ढिस्कोले पुरिएर ३ मजदुरको मृत्यु प्रकरणः प्रहरी र स्थानीयवासी झडप, ४ प्रहरी र एक पत्रकार घाईते

नवलपरासी– नाला निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएर ३ मजदुर महिलाको मृत्यु भएपछि पूर्वी नवलपरासीको कावासोती शुक्रबार तनावग्रस्त भएको छ।

मृतकका आफन्त र गाउँले प्रदर्शनमा उत्रिएपछि प्रहरीबीच पटकपटक झडप भएको छ। प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन २ दर्जनभन्दा वढि अश्रुग्यास प्रहार गरेको छ। तर, स्थितीमा सुधार आएको छैन।

प्रदर्शनकारीको आक्रमणमा परी ४ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलले वताए। पत्रकार कल्पना कुँवर, स्थानीय सञ्जय श्रेष्ठलगायत पनि घाइते भएका छन्।

प्रदर्शनकारीले कावासोती नगरपालिका र नगर प्रमुख विष्णुप्रसाद भुसालको घर तोडफोड गरेका छन्। कावासोतीको फलफूल चोकमा ढल निकास निर्माणका क्रममा विहिवार साँझ ३ महिला मजदुरको मृत्यु भएको थियो। ज्यान गुमाउनेमा कावासोती नगरपालिका–५ की ३२ वर्षीया चमेली दर्लामी, ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहा छन्।

कावासोती थानादेखि पूर्वतर्फ लगिएको ढलको नाला एक महिनाअघिबाट खन्न सुरु गरिएको हो। थानाचोकदेखि पूर्व हाटबजारसम्म लगिएको नाला खन्न फटाफट काम नगरेको भन्दै मेयरको ध्यानाकर्षण गराए पनि मेयरले बेवास्ता गरेको स्थानीयको आरोप छ।

नगरपालिकाले महेन्द्र राजमार्गदेखि उत्तरतर्फ पानीको निकासका लागि ९, १० फिट गहिरो खाल्डो (नाला) खन्ने क्रममा ३ जना महिला मजदुर पुरिएका थिए। राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयले विरोध गरेका छन्।

विहिवार घट्ना लगत्तै आक्रोशित स्थानीयले कावासोती नगरपालिकाका मेयरविरुद्ध नाराबाजीसहित घर घेराउ गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट