प्रहरी चौकीको भान्सा कोठामा बालिका बलात्कृत, २४ वर्षीय प्रहरी जवान पक्राउ

काठमाण्डौं– मकवानपुरमा १७ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी जवान नै पक्राउ परेका छन्। कञ्चनपुर घर भई प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान २४ वर्षीय सन्तोष बोटलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित नाबालिकाले दिएको जाहेरी दर्ता गरी बोटलाई पक्राउ गरिएको मकवानपुर प्रहरीका एसपी सिताराम रिजालले जानकारी दिए। उनका अनुसार प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकालाई प्रेमको जालमा पारेर पटक पटक बलात्कार गरेको खुलेको छ।

अन्तिम पटक ११ जेठमा बलात्कार गरेपछि १६ जेठमा बालिका बोटविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेकी थिईन। जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनको जाहेरी दर्ता गरी सोही दिन बोटलाई पक्राउ गरेको थियो। तर, घट्नालाई गुपचुपमै राखिएको पाईएको छ।

अभिभावकविहीन बालिकाको जाहेरीमा भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक–पटक बलात्कार गरेको उल्लेख गरेकी छ। पछिल्लो पटक भने बालिका बस्दै आएको ३ नम्बर वडाकै कटुञ्जेस्थित छात्राबासको भान्सा कोठामा लगेर बलात्कार गरेको जनाईएको छ।

जवान बोट र नाबालिकाबीच ७–८ महिना अगाडिदेखि नै चिनाजान भएको र बोटले नाबालिकालाई प्रेम पत्र लेखेर रातको समयमा भेट्न बोलाउने गरेको प्रहरीको भनाई छ। नाबालिका बस्ने छात्राबासकी एक महिलाले बोटले पठाएको प्रेमपत्र भेटेपछि यो प्रकरण बाहिर आएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट