पोल्याण्डको पीआर लिएको विषयमा शिक्षा मन्त्रीसँग सतर्कता केन्द्रले माग्यो जवाफ

काठमाण्डौँ– यूरोपेली देश पोल्याण्डको पीआर लिएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग जवाफ मागेको छ।
नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्दै परेको उजुरीका विषयमा बुझ्न भन्दै केन्द्रले उनलाई पत्र पठाएर जवाफ मागेको हो। श्रेष्ठले सामाजिक सञ्जाल (एक्स÷ट्वीटर) मा एउटा भिडियो पोष्ट गर्दै पत्र आएको बताएकी छिन्।
श्रेष्ठले पोल्याण्डको पीआर लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। पोल्याण्डका नागरिकसँग बिहे गरेकी श्रेष्ठले त्यही देशको पीआर लिएको उजुरीमा उल्लेख छ।
उजुरीमा नागरिकता दुरुपयोग गरेको, दोहोरो नागरिक भएको तथा बैंक खाता खोल्दा दुरुपयोग गरेको आरोप लागेको थियो। उनका श्रीमान् पोल्याण्डका नागरिक हुन्। तर, उनले पोल्याण्डका नागरिकसँग बिवाह गरेको भएपनि त्यहाँको पीआर नलिएको वताएकी छिन्।
‘कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर लिएको छैन। लिने प्रक्रिया के हो त्यो समेत थाहा छैन,’ उनले भनिन्। उनले आफ्ना विरुद्धमा उजुरी परेपछि मात्रै पीआर तथा ग्रिन कार्ड लिने प्रक्रियाका बारेमा बुझेको बताइन्।
पोल्याण्ड आफु एकदमै कम समय बसेको वताएकी उनले पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने जानकारी दिईन। उनले कुनै विदेशीसँग बिवाह गरेपछि पीआर पाउँछ भन्न नमिल्ने बताउँदै विदेशीसँग बिहे गर्दैमा पीआर लिनुपर्छ भन्ने पनि नभएको बताइन् ।
उनी सन् २००३ मा अध्ययनका लागि नेपाल बाहिर गएकी थिइन् । विदेशमा रहँदा उनले पढ्नुका साथै काम समेत गर्दै आएकी थिइन्।
म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन।
ट्याबलोइड सञ्चार माध्यममा सीमित रहदा सम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैमा अस्पष्ट छ, कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः… pic.twitter.com/cYyiOtKwnK
— Sumana (@SumanaShrestha) July 10, 2024