सिंहदरबारमा बमको हल्लाले दिनभर त्रास, वास्तविक्ता थाहा पाउँदा प्रहरी नै चकित

काठमाण्डौं– अज्ञात ब्यक्तिले नेपाल प्रहरीको कन्ट्रोल नम्बर (१००) मा फोन गरेर ‘बम राखेको’ सूचना दिएपछि बुधबार दिनभर सिंहदरबारमा खैलावैला मच्चिएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्रमै वमको हल्लाले प्रहरी मात्र नभई भीआईपी समेत त्रसित भए।
तर, दिनभर खोजी गर्दा पनि वम फेला परेन। त्यसपछि प्रहरीले वमको सूचना दिने ब्यक्तिलाई पक्राउ गरेको छ। दाङको बबई गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका प्रेम बस्नेत पक्राउ परेका छन।
वस्नेत पक्राउ परेपछि भने सिंहदरबारमा वम नभई प्रहरीलाई दुःख दिन गलत सूचना दिएको खुलेको छ। प्रहरीसँग यसरी ‘प्य्रांक’ गर्ने आफुसहित तीन जनाको समुह रहेको वस्नेतले वताएका छन्। उनलाई मदिराको नसामा रहेको अवस्थामा प्रहरीले दिउँसो सोह्रखुट्टेबाट पक्राउ गरेको हो।
जानकारी अनुसार वमको हल्लापछि दिउँसो १ बजेसम्म कुनै पनि भिआइपी सिंहदरबार प्रवेश गरेका थिएनन्। अधिकांश वैठक र भेटघाटका कार्यक्रम रद्द गरिएको थियो। बमको हल्ला फिजाउने व्यक्ति पक्राउ परेपछि मात्र भिआइपीहरु सिंहदरबार गएको जनाईएको छ।
६ असार ०४२ मा काठमाडौंलगायतका मुलुकका विभिन्न स्थानमा बम विस्फोट भएको थियो। तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई लक्षित गरी बम विस्फोट गराएका थिए। राजदरबारको पश्चिम ढोका र दक्षिण ढोकामा शक्तिशाली बम विस्फोट भएको थियो।
आजको वमको हल्लापछि धेरै भीआईपीहरु सोही घट्ना पुनरावृत्तिको त्रासमा थिए। राजनैतिक उथलपुथल भईरहेका वेला ठुलै दुर्घटनाको आशंका गरिएको थियो। नेकपा एमाले र नेपाली काँग्रेस सत्ता गठवन्धनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार संकटमा छ।
सरकार फेरबदल हुँदै गर्दा यस्तो सूचनालाई गम्भिर रुपमा लिईएको जानकारहरु बताउँछन्।