गोरखा पहिरोमा यसरी परे परिवार बाहेकका ५ जना, बेपत्ताको अबस्था अझै अज्ञात

काठमाण्डौं– उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएका सबैको पहिचान खुलेको छ। तर, उनिहरुको अवस्था भने अझै अज्ञात छ।
आज विहान करिव ३ बजे पहिरो जाँदा जीतबहादुर गुरुङको घर र गोठ बगाएको थियो। एकै परिवारका ३ सहित ५ जना वेपत्ता भएका छन्। पहिरोमा परी ६५ वर्षीय सोलाल कान्छा, उनका छोरा जीतबहादुर र बुहारी ३५ वर्षीया कान्छी गुरुङ बेपत्ता भएका छन्।
उनीहरुसहित सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ३४ वर्षीय रमेश परियार बेपत्ता भएका छन भने सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङलाई घाईते अवस्थामा उद्धार गरिएको छ।
घाइते दुवैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दिलीपको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिबाट काठमाण्डौं ल्याउने तयारी भइरहेको छ।
बेपत्ताको खोजीका लागि स्थानीयसहित जनप्रतिनिधि, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए। जीतबहादुरको घरमा होटलसमेत सञ्चालन गरिएकाले बाहिरबाट अतिथि आएर खाने बस्ने गरेका थिए।
परिवार वाहेकका ब्यक्ति होटलमै वसेका ब्यक्ति भएको खुलेको छ। ती मध्ये ट्याक्टर चालक रमेश परियार सोही ठाउँमा कामका लागि पुगेका थिए। उनी शनिबार मात्र ट्याक्टर लिएर त्यहाँ पुगेको जनाईएको छ।