छिमेकीको योजनामा पूर्वराज्यमन्त्री रायको हत्या, २ लाख सुपारी लिएर कामदारले फत्ते गरे योजना

जनकपुर– पूर्व भुमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या छिमेकी वीरेन्द्र राय यादवको योजनामा भएको खुलेको छ। रामचन्द्रको हत्या गर्न उनकै कामदार कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन रायले विरेन्द्रसँग २ लाख सुपारी लिएका थिए।
हत्या आरोपमा प्रहरीले रामउजैन र छिमेकी ४६ वर्षीय वीरेन्द्रलाई पक्राउ गरेको छ। रामउजैन र वीरेन्द्रलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिईएको सर्लाही प्रहरीका डीएसपी दीपक श्रेष्ठले बताए।
६ साउनको राति सर्लाहीको चन्द्रपुर नगरपालिका– १ रत्नपुरस्थित आफ्नै फर्महाउसमा रायको हत्या भएको थियो। प्रहरीका अनुसार हत्याको योजनाकार वीरेन्द्र हुन्। हत्याको कारण भने जग्गा विवाद भएको खुलेको छ। वीरेन्द्रले रामचन्द्रको घर आफनो जग्गामा परेको दावी गर्दै आएका थिए। यसैबीच करिब १ महिना अघि वीरेन्द्रले रामउजैनसँग रामचन्द्रको घरजग्गाको नक्सा लिएर फोटो/भिडियो पनि खिचेका खुलेको छ।
रामचन्द्रको हत्या भए जग्गा आफ्नो हुने लालचमा परेका वीरेन्द्रले हत्याको योजना बनाएर रामउजैनलाई प्रभावमा पारेको अनुशन्धानबाट खुलेको डीएसपी श्रेष्ठको भनाई छ। विरेन्द्रले २ लाख रुपैयाँ नगद र एउटा ब्यवसाय खोलेर दिने प्रलोभनमा पारी रामचन्द्रको हत्या गराएको पाईएको छ।
२ लाख नगद र आफनै ब्यवसाय पनि हुने भएपछि अरुको घरमा काम गर्नु नपर्ने लोभमा परेका रामउजैन ८० वर्षीय रामचन्द्रको हत्या गरेका थिए। फर्सा (उखु काट्ने बन्चरो आकारको हतियार) ले टाउकोमा हानेर रामचन्द्रको हत्या गरेपछि आफैले प्रहरी पनि बोलाए।
तर, हत्यामा आफु संलग्न नभएको दावी गर्दै उनले प्रहरीलाई अल्मल्याउन काल्पनिक ब्यक्ति र घटना कथेर सुनाए। घट्ना भएको साँझ ३ जना ब्यक्ति जग्गा विवादको कुरा लिएर पूर्वराज्यमन्त्रीलाई भेट्न आएको, उनीहरुलाई आफुले पानी खान दिएको, सँगै सुत्ने बताएपछि ओछ्यान मिलाई दिएको र मालिकले सुत्न जा भनेपछि आफु छतमा गएर सुतेको कथा उनले प्रहरीलाई सुनाए। तीनै ब्यक्तिले रामचन्द्रको हत्या गरी फरार भएको रामउजैनको कथामा प्रहरीले विश्वास गरेन। प्रारम्भिक अनुशन्धानमै उनी शंकाको घेरामा परे। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुशन्धान सुरु गर्यो।
प्रहरीले घटनास्थलबाट ५० मिटर पश्चिम बाँसको झ्याङमा फर्सा बरामद गर्यो। जसमा रगत र कपालसमेत लागेको थियो। हत्याको वेला लगाएको गन्जी च्यातेर ३ तीन टुक्रा पारेर फालेको अवस्थामा बारीमा भेटियो।
यतिमात्रै होईन, प्रहरीले रामउजैन सुत्ने ओछ्यानको तन्नामा पनि रगत लागेको भेट्यो। मोबाइलमा भएको डाटाको परीक्षण गर्दा पनि अपराधको सुई रामउजैनतिरै सोझिएपछि उनी अनुशन्धानको केन्द्रमा आईपुगे। सवै प्रमाणले आफुलाई फसाएको महसुस गरेपछि रामउजैनले अपराध स्विकार गर्दै ‘अरुको योजनामा आफुले हत्या गरेको’ कबुल गरे। उनकै बयानका आधारमा वीरेन्द्र पक्राउ परेका हुन।
यो पनि,
- पूर्वराज्यमन्त्री रायको हत्या प्रकरणमा ट्विस्टः अरुले हत्या गर्न लगाएको सहयोगीको बयान
- पूर्वराज्यमन्त्री रायको हत्या सहयोगीबाटै, पोलिग्राफ परिक्षणबाट खुल्यो रहस्य
- मृत्यु संस्कारमा सहभागि भएर घर पुगेको ४ घण्टा नपुग्दै पूर्वराज्यमन्त्रीको हत्या, को हो हत्यारा ?
- पूर्वराज्यमन्त्री हत्या प्रकरणः को थिए जग्गा विवाद मिलाउन भन्दै आएका ३ ब्यक्ति, कहाँ छन् उनीहरु?
- पूर्व राज्यमन्त्रीको हत्या आरोपमा घरका कामदार युवक पक्राउ
- पूर्वराज्य मन्त्री रामचन्द्र रायको हत्या, बाँसघारीमा भेटियो हतियार, हत्यारा फरार