कोरोनाको औषधी बनाएको दावी गरेर चर्चित खतिवडा ओलीको ज्यान लिने हवन गर्न थालेपछि…

काठमाण्डौं– देशका शीर्ष नेताको मृत्युको कामना गर्दै अनुष्ठान गरिरहँदा मण्डिखाटारस्थित आफनै निवासबाट सोमबार पक्राउ परेका धार्मिक अभियान्ता पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राख्न अनुमति दिएको हो। उनले ४ दिनअघि नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको बताएका थिए। सोमबार निवासमै अनुष्ठान (यम पूजा) को आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखेर होम गर्ने तयारी गरिरहेका बेला उनी पक्राउ परेका हुन।

आफुलाई धर्मगुरु र ज्योतिष भनेर चिनाउँदै आएका खतिवडा झापा निवासी हुन। उनी पटक–पटक उटपट्याङ काम गरेर विवाद र चर्चामा आउने गरेका छन्। उनको स्थायी ठेगाना बुद्धशान्ति गाउँपालिका–२ हो। सेतु खतिवडा र मनमायाँ खतिवडाका छोरा पुष्कर २९ वैशाख ०५२ मा जन्मिएका हुन। उनी कक्षा १२ सम्मको अध्ययन गरी भारततिर लागेका थिए। सम्पूर्णान्द संस्कृत विश्वविद्यालय वाराणसीबाट उनले संस्कृतमा ग्राजुएट गरेका छन्।

उताबाट फर्किएपछि घरमै वसेका उनी कोरोना कालमा एकाएक चर्चामा आए। कोभिडको औषधि आफूले उत्पादन गरेको र शतप्रतिशत त्यसले निको पार्ने भन्दै प्रचार गरेपछि प्रहरी पक्राउ गरेर चेतावनीसहित रिहा गरेको थियो। त्यसपछि उनी झापामै रहेर दुर्गा प्रसाईको कार्यकर्ता भएर काम गरे। प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियान’मा खतिवडाले समर्थन गरेका थिए।

केही बर्ष अगाडिदेखि उनी श्रीमती र छोराहरुसहित काठमाडौं महानगरपालिका–४, धुम्बाराहीमा बस्दै आएका छन्। उनी झापा –काठमाण्डौं ओहोर–दोहोर गरिरहन्छन्। उनले फेसबुक प्रोफाइल (धर्मगुरु पुष्कर खतिवडा) मार्फत प्रत्यक्ष प्रसारण गरि ज्योतिष एवम् हिन्दु धर्मसँग सम्वन्धित प्रचारहरु गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट