बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागिन, सरकारी निवासमा प्रदर्शनकारीको कब्जा
काठमाण्डौं– विद्यार्थी आन्दोलन आफनो राजिनामामा केन्द्रित भएर प्रदर्शनकारी सरकारी निवासमै प्रवेश गर्न थालेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेकी छिन्।
गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनले आफ्नी बहिनी शेख रेहानाकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले जनाएको छ।
बीबीसीले हसिना राजीनामा दिएर भारततर्फ गएको लेखेको छ। उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको जनाईएको छ। प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन्।
आईतबार सुरक्षा निकायका प्रमुखहरुसँग छलफलपछि प्रधानमन्त्री हसिनाले ‘आन्दोलनकारीहरु विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतंकवादी भएको’ प्रतिक्रिया दिएकी थिइन्। त्यसपछि आन्दोलन थप उग्र वनेको थियो।
यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजे पनि सम्भव भएको थिएन। बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन्। त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी छ।
बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए। आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय मानिसहरूको मृत्यु भइसकेको छ। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले लेखेको छ। सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तनावका कारण बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अबरुद्ध छ। प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ।