बेलबारीमा मृत छावा भेटियो, ७ महिनामा ३ हात्ति मारिए

विराटनगर– मोरङको बेलबारी नगरपालिका–३, करमडाँडामा मंगलबार बिहान जंगली हात्तीको छावा (हात्तीको बच्चा) मृत भेटिएको छ।
सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिपेशकुमार मिश्रका अनुसार स्थानीय विनोद थापाको टिक बगानभित्र हात्तीको छावा (पोथी) मृत फेला परेको हो। करिव २–३ वर्षको जस्तो देखिने छावाको मृत्युको कारण यकिन भएको छैन।
मिश्रका अनुसार घटनाका बारेमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरिएको छ। वन कर्मचारी र इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले अहिले घटनास्थललाई सुरक्षित राखेको छ। घटनास्थल वरपर सोमबार राति १०/१२ वटाको संख्यामा हात्ती देखा परेको जानकारी स्थानीयले दिएका छन्।
मोरङमा पछिल्लो ७ महिनाको अवधिमा ३ वटा जंगली हात्ती मृत फेला परेका छन्। गत ३० जेठमा सुन्दरहरैँचा नगरपालिका–६ मा भाले छावा मृत फेला परेको थियो भने १६ पुस ०८० मा सुन्दरहरैंचा–१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती मृत फेला परेको थियो।