मधेशमा एकै पटक ८ राज्यमन्त्री बरखास्त, मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई पठाए पत्र

जनकपुर– मधेश प्रदेशका सबै ८ जना राज्यमन्त्री बर्खास्त भएका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरुलाई बरखास्त गरेका हुन।
मन्त्रिपरिषद धेरै ठूलो बनाएको भन्दै चर्को आलोचना र जसपा नेपाल निकट युवा विद्यार्थीले आन्दोलन गरिरहेपछि मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्। बर्खास्तीमा पर्ने राज्यमन्त्रीमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना छन्।
उनीहरुलाई हटाईएको पत्र प्रदेश प्रमुखलाई मंगलबार बिहान पठाई सकिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। २५ जेठमा मुख्यमन्त्री नियुक्त भएका सिंहले पछिल्लो पटक २२ साउनमा ५ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद २० सदस्यीय बनाएका थिए।
अव मधेशको मन्त्रिपरिषद १२ सदस्यीय भएको छ। जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री बाँकी छन्। मन्त्रिपरिषदलाई अनावश्यक रुपमा ठूलो बनाएर राज्यस्रोतको दोहन मात्र गरेको भन्दै आलोचना भएको थियो।
यस विषयमा उनकै पार्टीले समेत स्पष्टिकरण सोधेको थियो। मधेश प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले यसैलाई मुद्दा बनाएर आन्दोलन गरिरहेको थियो।