ट्रकको ठक्करबाट घाईते स्कुटर चालक महिलालाई ब्याक गरेर मारेको भन्दै गठ्ठाघरमा तनाव, प्रहरीले हान्यो अश्रुग्याँस

काठमाण्डौं– भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करले स्कुटर चालक महिलाको मृत्यु भएपछि उत्पन्न तनावमा प्रहरीले अश्रुग्यास हानेको छ।
बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान भएको छैन।
उनलाई ट्रकले ठक्कर दिएर घिसारेको थियो। उनको शव चक्कामा चेपिएको थियो। केही प्रत्यक्षदर्शीले सुरूमा खुट्टामा मात्र किचेको र पछि ब्याक गरेर किचेको दाबीसमेत गरेका छन्। दुर्घटनापछि करिब २ हजारभन्दा वढि सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए। स्थानीयले ट्रक तोडफोड तथा आगजनी गरेर प्रहरीमाथि ढुंगा, इटा प्रहार गरेका थिए।
दुर्घटनामा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै स्थानीयले प्रदर्शन गरे। प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन्। ट्रकमा लगाइएको आगो भने निभाइएको छ।
प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ। घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरका ८० जना र काठमाडौंका ११५ जना प्रहरी परिचालन भएका छन्। प्रहरीले शव उठाएर त्रिवि शिक्षण अस्पताल पठाएको छ। ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।