हिजो गठ्ठाघरमा भएको के थियो ? यस्तो छ घट्ना विवरण

काठमाण्डौं– भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, गट्ठाघर विहिवार दिउँसो करिव ६ घण्टा तनावग्रस्त बन्यो। ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले ट्राफिक प्रहरीलाई निशाना बनाए।

दिउँसो करिव साढे १ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बीच सडकमै रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दियो। ट्रकको ठक्करबाट स्कुटर चालकको घट्नास्थलमै मृत्यु भयो। घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे।

प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखे। तर, ट्राफिक प्रहरीले भने त्यस क्षेत्रमा बिहीबार गाडी रोकेर चेकजाँच नगरेको दाबी गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले ट्राफिक प्रहरीको भनाईका आधारमा दुर्घटना भएको स्कुटर र ट्रक कुनैलाई पनि नरोकेको दावी गरेका छन्। उनका अनुसार गट्ठाघरमा ‘स्पिड गन’मार्फत सवारीको गति अनुगमन भने गरिएको थियो। गाडीको गति जाँच भइरहेको थाहा पाएपछि ट्रकले एक्कासी गति घटाउँदा दुर्घटना भएको ट्राफिक प्रहरीको भनाई छ।

ट्राफिकले गति नापेको थाहा पाएर ट्रकले एक्कासी गति घटाउँदा स्कुटर अनियन्त्रित भएर ट्रकमुनि छिरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीका अनुसार बनेपातर्फ जाँदै गरेका दुबै सवारी दुर्घटनामा परेका हुन्।

तर, स्थानीयले भने स्पीड नापीरहेको ट्राफिकले स्कुटरलाई बीच सडकमै रोकेको बताएका छन्। सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको उनीहरुको भनाई छ। तीब्र गतिको ट्रकले स्कुटरलाई करिव सय मिटर परसम्म घिसारेको थियो।

स्कुटर चालकको शरीर क्षतविक्षत भएकाले वेलामा पहिचान र सनाखत हुन समेत गाह्रो पर्यो। त्यसपछि भीड जम्मा भएर प्रहरीमाथि खनियो। ट्राफिक प्रहरीले सडकमा जथाभावी ‘स्पीड चेकिङ’ गरेकामा उनीहरुको आक्रोश थियो। ट्राफिक प्रहरीको भागभाग भयो। आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । प्रहरी बीट, ट्राफिक आइरल्याण्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड भए।

आक्रोशित भीड र प्रहरीबीच ढुङ्गा हानाहान भयो। स्थिति निकै तनावग्रस्त बनेपछि प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो। तर, स्थिति नियन्त्रणमा नआएपछि ३० सेल अश्रु ग्यास प्रहार गर्‍यो। भक्तपुरका सीडीओ रोशनीकुमारी श्रेष्ठले सशस्त्र प्रहरीले ८ राउन्ड र नेपाल प्रहरीले २२ राउन्ड अश्रु ग्यास प्रहार गरेको जानकारी दिईन।

तनावकाबीच प्रहरीले शव झिक्ने प्रयास गर्‍यो तर टायरमुनि शव परेकाले निकाल्न सकेन। त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भीडले फेरी अवरोध गर्यो। प्रहरी र प्रदर्शनकारीबीच दोहोर्‍याएर तनावको अवस्था बनेको थियो।

यता, घटना भएको ६ घण्टापछि मृतक पुरुष रहेको पहिचान भएको छ। सुरुमा महिलाको मृत्यु भएको भनेको प्रहरीले पछिल्लो समय मृतक पुरुष भएको पुष्टि गरेको हो। डीएसपी कार्कीका अनुसार मृतकको साथमा ओखलढुङ्गाका ४५ वर्षीय उत्तम कोइरालाका नाममा जारी भएको सवारी चालक अनुमतिपत्र भेटिएको छ। यद्यपी आफन्तबाट शव पहिचान भएको छैन।

घटनामा संलग्न ट्रक चालक सर्लाहीको मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ। मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट