आरजु राणाविरुद्ध अख्तियारमा उजुरीः टीकापुर जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरण फेरी ब्युँतियो

काठमाण्डौं– परराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ डा. आरजु राणा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

रास्वपाका सभापति रवि लामिछाने विरुद्ध उजुरी हालेर चर्चामा रहने गरेका युवराज सफलले राणा विरुद्ध पनि उजुरी दर्ता गराएका हुन। बिहीबार सफलले राष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएका हुन्।

डा. राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने उनले उजुरीमा उल्लेख छ। उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाएर तत्काल अनुसन्धान गर्न अख्तियारलाई भनेका छन्।

‘परराष्ट्र मन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टीकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ, मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हुँदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदासम्म पदमा बसी राख्न मिल्दैन’– उनले उजुरीमा लेखेका छन्।

तत्कालिन गृहमन्त्री रवि लामिछानेले टीकापुर जग्गा घोटाला प्रकरणमा आरजुलाई पक्राउ गर्न सीआईवीको टोली नै खटाएका थिए। स्रोतका अनुसार रविले आफु निकटका ब्यक्तिसँग आरजूलाई ‘पक्राउ गरेर १ घन्टा भए पनि थुन्ने’ बताउँदै आएका थिए।

आरजुलाई पक्राउ गर्न लामिछानेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआबी)लाई ठाडो निर्देशन दिएपछि टोली १६ असारमा देउवा निवास बुढानिलकण्ठ पुगेको थियो। यद्यपी यो कुराको प्रहरीले तत्कालै खण्डन गरेको थियो।

लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेला मन्त्री सरहको सेवा सुविधा पाउने गरी २०५३ सालमा नैनबहादुर स्वाँर टीकापुर विकास समितिको अध्यक्ष भएका थिए। उनले २०५५ सालसम्म समितिको अध्यक्षको जिम्मेवारी सम्हालेपछि कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणालाई समेत जग्गा उपलब्ध गराइएको भेटिएको छ। १५ वैशाख २०५४ मा देउवाले टीकापुर नगर विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी लिएको कागजातबाट देखिन्छ।

आरजुले घडेरी कुन मापदण्डमा परेर पाएकी हुन् भन्ने समतिको निर्णय पुस्तिकामा भेटिँदैन। आरजुले अहिले आफूले ५० हजारमा घडेरी खरिद गरेको दाबी गरिरहेकी छन्।

यता, नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका दुई नेत्री आरजु राणा र मञ्जु खाण मुछिएको अडिओ क्लिप नै सार्वजनिक भएको थियो। गिरोहका सदस्य सन्देश शर्मा र नक्कली भुटानी बनेर अमेरिका उड्न चाहने व्यक्तिबीचको सम्वाद भनिएको उक्त अडियोमा राणा र खाणलाई गरी साढे आठ करोड रुपैयाँ बुझाएको भनिएको थियो।

अर्को अडिओ क्लिपमा कांग्रेसकै नेता शेखर कोइराला र सुजाता कोइरालालाई समेत मुछिएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने विषयमा यी नेतासँग कुराकानी भइरहेको शर्मा र अमेरिका उड्न चाहने व्यक्तिबीचको अडिओ सुनिन्छ। यसमा आर्थिक लेनदेनको विषयमा भने छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट