ओली र देउवाविरुद्ध हुलहुज्जत गर्दा झण्डै साउदीको प्लेन छुट्यो ?

काठमाण्डौं– सुर्खेतका बुद्धराम (गोपिकृष्ण जैसी) स्वदेशमा वेरोजगार भएपछि विदेश जाने सोचमा थिए। विदेशमै भएपनि पैसा कमाउने उदेश्य राखेका उनले निकै दौडधुप गरेर साउदी अरब जाने मेसो मिलाए।

सम्पूर्ण कागजात तयार भएपछि साउदीबाट उनको भिसा आएको छ। साउदीका लागि उनले प्लेन टिकटसमेत काटिसकेका छन्। आईतबार उनको काठमाण्डौंबाट उडान छ। तर, त्यसको ५ दिन अघि उनलाई प्रहरीले पक्राउ गर्यो। पक्राउ पर्ने कारण उनी आफैं हुन।

गत सोमबार टुडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रम हेर्न पुगेका उनी साथीको लहलहैमा लागे। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी उक्त कार्यक्रममा नाराबाजी भयो। भर्खरै वंगलादेशबाट तत्कालिन प्रधानमन्त्री शेख हसिना देश छोडेर भाग्नु परेको घटना देखिरहेका प्रधानमन्त्री ओलीले ‘मुर्दाबाद’ को नारा लाग्न थालेपछि स्थितीलाई विगार्न चाहेनन्। छोटो भाषण गरेर कार्यक्रमस्थल छोडे।

ओलीपछि सम्वोधनका लागि माईकमा आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि विरोध भयो। उनले बोलुनजेलसम्म युवाहरुको एउटा समुहले हुटिङ गर्न छोडेन। ओली र देउवाको नाम लिएर ‘मुर्दावाद’ भिनिरह्यो। अन्ततः देउवा पनि भाषण छोट्याएर कार्यक्रम स्थलबाट वाहिरिए।

यो प्रकरण निकै चर्चामा आयो। विभिन्न युट्युव च्यानल र मिडियाले नाराजुलुस गरिरहेका युवाहरुको फोटो र भीडीओ सार्वजनिक गरे। त्यसपछि प्रहरीले ती मध्येका तीन जनालाई पक्राउ गर्यो। कार्यक्रम बिथोल्ने नियतका साथ हुलहुज्जत गरेको आरोपमा कन्चनपुरका दीपक सिंह ठगुन्ना र अछामका रामबहादुर बुढासँगै जैसीलाई पनि काठमाण्डौं प्रहरीले पक्राउ गर्यो।

गोपीकृष्ण र रामबहादुर मंगलबार तथा ठगुन्ना बुधबार पक्राउ परेका थिए। प्रहरीले तीनै जनाविरुद्ध म्याद थप गरी मुद्दा चलाउने तयारी गरिरहेको थियो। तर, संसददेखि सडकसम्म चर्को विरोध भएपछि प्रहरीले चौथो दिनमै उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गर्यो।

त्यसपछि उनीहरु ९/९ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। अब जैसीले छुट्दा छुट्दैको प्लेन चढ्न पाउने भएका छन्। उनी आईतबार साउदी उड्ने तयारीमा छन्। यता, बुढा पनि वैदेशिक रोजगारीको तयारीमा छन्। ठगुन्ना भने कीर्तिपुरस्थित सहिद स्मारक कलेजका विद्यार्थी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट