बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर लुकाउन शवलाई ११ टुक्रा पार्ने मंगल कारागार चलान

काठमाण्डौं– श्रीमतीको हत्या गरी शवलाई टुक्रा–टुक्रा पारेर जंगलमा गाडेको आरोपमा पक्राउ परेका मकवानपुरमा एक युवकलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठको इजलाशले कैलाश गाउँपालिका–५ कालीखोला (काफलडाँडा) का २६ वर्षीय मंगलबहादुर पाख्रिनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

उनीविरुद्ध श्रीमती २२ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरी हत्या गरेको आरोप छ। मंगलबहादुरले गत २७ साउनमा लक्ष्मीको घरभित्रै हत्या गरेपश्चात कालीखोला सामुदायिक वनको जंगलमा लगेर गाडेका थिए।

अपराधको प्रमाण नष्ट गर्न उनले लक्ष्मीको शवलाई घरभित्रै ११ टुक्रा पारेर २ वटा बोरामा प्याक गरी जंगलमा लगेको खुलेको थियो। घरनजिकै रहेको जंगलमा खाल्टो खनेर गाडेको अवस्थामा प्रहरीले लक्ष्मीको शव उत्खनन् गरेको थियो।

मंगलले पत्नीको कपडाहरु पनि शव गाडेको स्थान भन्दा केही पर बोरामा हालेर खाल्टोमा पुरेका थिए भने हत्या गर्न प्रयोग गरिएको बन्चरोको बीड फुकालेर जंगलमै खाल्टो खनेर लुकाएका थिए। पत्नीको हत्या गरेको कुरा छिमेकीले थाहा पाएपछि इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरिदिएका थिए।

गाउँलेको सहयोगमा प्रहरीले मंगललाई पक्राउ गरेको थियो। मंगल पक्राउ पर्दासम्म प्रहरीले लक्ष्मीको शव फेला पारेको थिए। उनी हराएको र हत्या भएको आशंका मात्रैका आधारमा मंगल पक्राउ परेका थिए। प्रहरीका अनुसार मंगल र लक्ष्मी एउटा घरमा र आमा–बुवा अर्को घर (करिव २५ मिटर टाढा) बस्थे।

आईतबार (२७ साउन) आमा–बुवा छोरा बुहारी बस्ने घरमा पुगेका थिए। तर त्यहाँ लक्ष्मीलाई नदेखेपछि उनीहरुले सोधीखोजी गरे। मंगलले कुनै जवाफ दिएनन्। पटक–पटक सोधेपछि ‘मारेको’ भन्दै उनले जवाफ दिए।

गाउँलेको सहयोगमा सोमबार पक्राउ परेपनि लामो समयसम्म उनले हत्या स्विकारेनन्। तर, राती करिब ८÷९ बजेतिर भने उनले अपराध स्वीकार्दै शव लुकाएको ठाउँ पनि खुलाए। उनले भने अनुसार भोलीपल्ट शव उत्खनन् गरिएको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीका एसपी सीताराम रिजालका अनुसार मंगललाई १ वर्षसम्म वडा कार्यालयले सञ्चालन गरेको सुधार केन्द्रमा राखिएको थियो। त्यहाँबाट निस्किएपछि श्रीमान र श्रीमतीको बीचमा सम्बन्ध राम्रो थिएन। उनीहरूका १३ महिनाकी छोरी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट