पथरीमा खुर्पाले काटेर ससुराको हत्या गरी ज्वाईँ फरार, रगताम्मे अवस्थामा भेटियो शव

विराटनगर– मोरङमा ६० वर्षीय पुरुषको आफनै घरमा खुर्पा प्रहार गरी हत्या गरिएको छ। पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या भएको हो।
चन्द्रबहादुरको हत्या उनकै ज्वाईँ २५ वर्षीय रविन राईले गरेको प्रहरीको आशंका छ। ज्वाईँ ससुरा मात्रै वस्दै आएको घरमा ससुराको शव फेला परेको छ भने ज्वाई फरार छन्। तामाङको शव नजिकै रगताम्मे अवस्थामा खुर्पा फेला परेको छ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार तामाङको शव घरको प्यासेजमा रगतमा डुवेको अवस्थामा शनिवार विहान फेला परेको थियो। उनको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा खुर्पाले प्रहार गरेको चोट छ।
घटनाको प्रकृति हेर्दा खुर्पा प्रहार गरेर ज्वाईँले नै तामाङको हत्या गरेको देखिएको डीएसपी दाहालले बताए। घट्नाको विषयमा स्थानीयले प्रहरीलाई जानकारी दिएका हुन। घटनास्थल पथरी बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ।
प्रहरीका अनुसार रविनको घर तामाङको घर नजिकै छ। चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन्। उनका पत्नी र छोराछोरी (रविनकी श्रीमतीसहित) सबै जना विदेशमा छन्। दुवै जना एक्लाएक्लै भएपछि उनीहरु एकै घरमा वस्दै आएका थिए।
चन्द्रबहादुर र रविन दुवै जना ज्यामी काम गर्थे। दिनभर काममा गएपनि उनीहरु रातभर मदिरा सेवन गरेर विवाद गर्ने र होहल्ला गर्ने गरेको खुलेको छ। शुक्रबार राति पनि उनीहरु मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मदिरा सेवनपछि विवाद हुँदा ज्वााईँले ससुराको हत्या गरी फरार भएको हुनसक्ने डीएसपी दाहालले आशंका गरेका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।