रामेछापमा यात्रु बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १६ जना घाईते

काठमाडौँ– रामेछापमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्।
काठमाडौँबाट सिन्धुली जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको बस दुर्घटना हुँदा रामेछापको सुनकोशी गाउँपालिका–६ की युनिषा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ। घाइतेलाई उपचारका लागि मुलकोटमा लगिएको छ। बसको ब्रेक फेल भएपछि केही यात्रु आफैं हाम फालेको स्थानीयले जानकारी दिएका छन्। प्रहरीका अनुसार बस खाँडदेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना भएको हो।
बाढी–पहिरोको कारण बीपी राजमार्गको सडक बन्द भएपछि अहिले काठमाडौं–चरिकोट–मन्थली–सिन्धुलीको वैकल्पिक मार्ग सञ्चालन भएको छ।
फाईल फोटो।
प्रतिक्रिया