बलात्कार मुद्दामा जेलबाट छुटेको ५ महिना नवित्दै हत्या, भारत छिर्न खोज्दा नाकाबाट पक्राउ

काठमाडौँ– बाँकेको कोहलपुर नगरपालिका–८, पिपिराका ४० वर्षीय चन्द्रबहादुर कामीको हत्यामा संलग्न रोल्पाका २४ वर्षीय अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ। कामीको हत्या भएको ४ दिनपछि मंगलबार विहान परियार पक्राउ परेका हुन।
राप्तीसोनारी गाउँपालिका–१, तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट परियार पक्राउ परेका हुन। उनी एक स्थानीयको घरको शौचालयमा लुकेका थिए। जंगलको बाटो हुँदै भारत प्रवेश गर्ने योजनाका साथ उनी त्यहाँ पुगेको प्रहरीले जनाएको छ।
शनिवार (असोज २६ गते) राति कामीको हत्या गरेर फरार भएका परियार ५ महिनाअघि मात्रै जेलबाट रिहा भएका थिए। इलाका प्रहरी कार्यालय कोहलपुरले उनीमाथि बलात्कार मुद्दा चलाएको थियो। अदालतले दोषी ठहर गर्दै परियारलाई जेल सजाय तोकेको थियो। सजाय भुक्तान गरेर उनी गत वैशाखमा रिहा भएका हुन्।
२७ असोजको विहान करिव १ बजे कोहलपुर–८, बंगलाचोकस्थित कच्ची सडकमा टाउको विनाको कामीको शव फेला परेको थियो। टाउको गायव भएको आधारमा हत्या भएको निस्कर्षसहित अनुसन्धानमा जुटेको प्रहरीले करिब २ सय मिटर अगाडि सिसिटिभी क्यामेरा जडान गरेको फेला पार्यो।
त्यसको फुटेज जाँच गर्दा कामीको हत्या भएको राती सुनसान रातमा एक जना युवक केही सामान बोकेर साइकलमा सवार भएको देखियो। त्यसपछि प्रहरी साईकलको पछाडि लाग्यो। साईकल पछ्याउँदै जाँदा करिव ५ सय मिटर पूर्वउत्तरमा रहेको अनिता परियारको घरको आँगनमा ढुंगामा रगतको टाटा फेला पर्यो।
प्रहरीले उनलाई सिसीटिभी फुटेजमा देखिएका व्यक्तिबारे सोधपुछ गर्यो। अनिताले अनिलको नाम लिँदै आफ्नो दाइ नाता पर्ने बताईन। त्यसपछि प्रहरीले अनिताको घरमा खानतलासी गर्दा शौचालयको सेफ्टिक ट्यांकीमा कामीको टाउको र हत्यामा प्रयोग भएको हतियारसमेत फेला परेको थियो।
हत्यामा संलग्न व्यक्तिको पहिचान भएपछि खोजतलासमा जुटेको इलाका प्रहरी कार्यालय कोहलपुर र इलाका प्रहरी कार्यालय कुसुमको संयुक्त टोलीले परियारलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले बताए। उनका अनुसार सिसिटिभी फुटेजमै मृतक चन्द्रबहादुर र अनिलबीच झगडा भएको देखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुवैले मदिरा सेवन गरेको र त्यसैबीच झगडा हुँदा हत्या भएको हो। मृतक र आरोपीबीच के कारणले विवाद भयो भन्ने खुलिसकेको छैन। उनीहरूबीच पुरानो चिनजान पनि नरहेको एसपी कार्कीले जानकारी दिए।