सप्तरीमा मोटरसाईकलसँग ठोक्किएर बस पल्टियो, १ जनाको मृत्यु, २८ जना घाईते

राजविराज — पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुपमा बसले मोटरसाईकललाई ठक्कर दिँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। घट्नामा २८ जना घाईते भएका छन्।

कञ्चनरुप नगरपालिका–२, बरमझियामा आज विहान करिब साढे ६ बजे उदयपुरको गाईघाटबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले विपरित दिशामा जाँदै गरेको स५प१५९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो।

दुर्घटनापछि बस पल्टिएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी महेन्द्र नेपालले बताए। उनका अनुसार बस पल्टिँदा धनकुटाकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको छ भने २८ जना घाईते छन्।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको छ। जसमा मोटरसाईकल चालक कञ्चनरुप–२, बरमझिया निवासी महेन्द्र पण्डितका छोरा २५ बर्षीय सुमित पण्डितसमेत छन्।

अन्य २० जनाको उपचार धमेश्वर अस्पताल रुपनगरमा भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल वरमझीयाको टोलीले घाईतेहरुको उद्धार गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट