आइजिपी बसन्त कुँवरका दाजु पनि सहकारी ठगीमा संलग्न, यसरी पुष्टि भयो जीबी राईसँगको पार्टनरसिप

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवर सहकारी ठगी प्रकरणमा विवादमा परेका छन्। सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिले सहकारी ठगीमा कुँवरको संलग्नता पुष्टि गरेको छ भने प्रहरीको अनुसन्धानबाट पनि उनको ‘कनेक्सन’ देखिएको छ।
बाबुराम, नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरका सहोदर दाजु हुन। सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका कुँवर गण्डकी प्रदेशका पूर्वप्रमुखसमेत हुन। उनै कुँवर जीबी राई (गितेन्द्रबाबु राई) ले ५ वटा सहकारीको रकम विभिन्न कम्पनीमा लगेर अपचलन गर्दा उनको कानुनी सल्लाहकार थिए। जिबीको व्यक्तिगत मात्र नभई रकम अपचलन गरिएका संस्थामा पनि कुँवर कानुनी सल्लाहकार रहेको खुलेको छ।
त्यसबापत उनले डेढ वर्षसम्म पारिश्रमिक बुझेका छन भने जीबीका कम्पनीका साधारणसभामा कुँवर बक्ताका रुपमा उपस्थित भएर भाषणसमेत गर्ने गरेको प्रमाणहरु फेला परेका छन्। ९ पुस ०७७ मा गोर्खा ग्रुप अफ कम्पनीको एक कार्यक्रममा उनले भाषण गरिरहेको तस्बिर सार्वजनिक भएको छ।
संसदीय छानबिन समितिका सभापति सूर्य थापाका अनुसार कुँवरको भूमिका जिबीको मुख्य ब्याकअपका रूपमा थियो। पूर्वडिआइजी छविलाल जोशीलगायतलाई जिबी राईसँग जोड्न पनि उनको भूमिका थियो। कुँवर कुनै कम्पनीमा जिबी राईसँग पार्टनर पनि रहेको जनाईएको छ। छानबिन समितिका एक सदस्यका अनुसार विदेश भाग्नुअघिसम्मै जिबीलाई कुँवरले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सघाएको देखिन्छ।
जिबीका पूर्वसाझेदार छविलाल जोशीले पनि जिबी र कुँवरको घनिष्ठता खुलाएका छन। आफू कुँवरकै सल्लाहमा जिबीसँग व्यावसायिक साझेदार बनेको संसदीय छानबिन समितिसमक्ष उनले बयान दिएका छन।
संसदीय छानबिन समितिका एक सदस्यका अनुसार जिबीका कतिपय कम्पनीमा कुँवर साझेदार समेत रहेको खुलेको छ। ‘सबै कम्पनीको विवरण निकालेर छानबिन गरे त्यसमा कुँवरको साझेदारीसमेत बाहिर आउँछ।’– उनले भनेका छन्।
कुँवरले पनि करिब डेढ वर्ष आफू जिबी राईको कम्पनीमा कानुनी सल्लाहकार भएको स्वीकार गरेका छन्। तर, जिबीले सहकारीबाट ठगी गरेको रकम ती कम्पनीमा लगेको विषय आफूलाई जानकारी नभएको उनको दाबी छ।
यति हुँदासमेत कुँवरमाथि अनुसन्धान गरिएको छैन। राजकीय सत्ता र प्रहरी प्रशासनमा भएको पहुँच र शक्तिका कारण उनलाई हालसम्म अनुशन्धानमा नल्याईएको, बरु कुँवर जोडिएका विषयमा विगतमा नै प्रमाण नष्ट गरिएको स्रोतको दाबी छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कुँवरमाथि छानबिन गर्न सरकारलाई चुनौती दिएको छ। मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले यो विषय उठाए। ‘सञ्चालकले पैसा ल्याएर अकाउन्टमा राखिराखेको थियो, त्यो प्रयोग गर्ने म्यानेजिङ डाइरेक्टर रवि लामिछाने हुनुहुन्थ्यो, त्यसैले उहाँलाई कारबाही गर्नुप¥यो भन्ने तर्क हो भने पैसा कहाँबाट आउँदै छ भन्ने कुराको नियन्त्रण, अवलोकन र सबै सूचना राख्नुपर्ने व्यक्ति को हुन्छ? संस्थाको कानुनी सल्लाहकार हुन्छ।’ झाले भने–‘गोर्खा मिडियाको पनि कानुनी सल्लाहकार हुनुहुन्थ्यो। तर, उहाँलाई त तपाईंहरू (कांग्रेस–एमाले)ले राष्ट्रपतिको कानुनी सल्लाहकार बनाइदिनुभएको छ।’
अहिलेसम्म उनको बयानसमेत नलिएको झोले बताएका छन्। ‘पैसा कहाँबाट आउँदै छ, कुन प्रक्रियाबाट आउँदै छ, खर्च कसरी हुँदैछ भन्ने कानुनी रूपमा अपडेट राख्ने काम उहाँको होइन? उहाँलाई चाहिँ पुरस्कृत गरिदिने?’ झाले थपे–‘भनेपछि यो नियोजित नै देखिन्छ।’