एमालेले कारवाही गरे लगत्तै कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी घरबाटै पक्राउ

विराटनगर– सत्तारुढ दल नेकपा एमालेले सम्पूर्ण जिम्मेवारीबाट हटाए लगत्तै कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। उनलाई विराटनगरस्थित घरबाटै पक्राउ गरिएको हो।

अधिकारीलाई आजै एक बजेको विमान मार्फत काठमाडौँ पठाईएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले बताए। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई १४ कात्तिकमा जापान पुगेका कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मानव तस्करीको आरोपमा तानिएका छन्। उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए। तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो। शनिबारै वसेको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो।

उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरुको बयानका आधारमा अन्य ३ जना पनि पक्राउ परेका छन्। अधिकारी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट