मुख्यसचिव हुँदा भ्रष्टाचार मुद्दा खेपेर सफाई पाएका बैकुण्ठ अर्यालले योजना आयोगबाट पनि राजिनामा दिए

काठमाडौँ– मुख्यसचिव हुँदा भ्रष्टाचार मुद्दा लागेर सफाइ पाएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्। सफाई पाएपछि उनलाई राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकेर राखिएको थियो।
आइतबार रमाना वुझेर राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका उनले त्यसको भोलीपल्टै राजीनामा दिएका हुन। उनले १४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए।
त्यसपछि उनको निलम्बन फुकुवा भएको थियो। उनी निलम्बन भएसँगै सरकारले उनका लागि योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै सरुवा गरेको थियो। यो पदका लागि आयोगमा कुनै जिम्मेवारी भने तोकिएको थिएन।
मुद्दा लागेको भोलिपल्टै अर्याललाई सरुवा गर्ने निर्णयपछि लीलादेवी गड्तौला निमित्त हुँदै ३१ असारमा कायममुकायम मुख्यसचिव नियुक्त भएकी थिइन्। त्यसपछि १० साउनमा मुख्यसचिव नियुक्त भएकी उनले अवकाश पाएपछि १३ भदौमा एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएका थिए।