‘मलाई छाड्दिनोस, रिटायर्ड हुँदा पनि तपाईलाई सम्मान गर्छु’ भन्दा पनि रविप्रति पग्लिएनन् न्यायाधीश

काठमाडौँ– सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बुधबार थप ९ दिन हिरासतमा राख्न म्याद माग्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गरायो।

अदालत भवनको माथिल्लो तलास्थित न्यायाधीश चन्द्रकान्त पौडेलको इजलास नम्बर ६ मा प्रहरीले उनलाई हाजिर गरायो। रविको पक्षमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्तसहितको टोली नै तैनाथ थियो। रविलाई थप हिरासतमा राख्ने–नराख्ने पक्षमा वकिलहरूले आ–आफ्नो तर्क प्रस्तुत गरे।

त्यसैक्रममा रवि आफैं पनि बोल्न तयार भए। बोलेर विश्व किर्तिमान बनाएका उनले इजलाससमक्ष आफू निर्दोष भएको प्रमाणित गर्न निकै भुमिका बाँधे। उनले अहिलेसम्म आफूमाथि लगाइएका सबै आरोपहरू सहकारी घोटाला छानबिनका लागि गठित संसदीय विशेष समितिका संयोजक तथा एमाले नेता सूर्य थापाकै निर्देशनमा भइरहेको भन्न समेत भए।

थापाप्रति रुष्ट देखिएका लामिछानेले न्यायाधीशलाई भने फकाउने प्रयास गरे। ‘मलाई छाड्दिनोस, भोली तपाई रिटायर्ड भएर निस्कँदा पनि म तपाईलाई सम्मान गर्छु’ सम्म भन्न भ्याए।

‘श्रीमान्। यो स्क्रिप्ट र कहानीका लेखक सूर्य थापा हुन्। उनले लेखेको स्क्रिप्टअनुसार नै छायांकन भइरहेको छ। अहिले मन्ध्यान्तरमा छ,’ भन्दै आफनो भनाई सुरु गरेका उनले भने, ‘मैले संसदीय छानबिन समितिमा गएर आफूले निर्दोष भएको बताएँ तर उनले हरेक मिडियामा पुगेर ममाथि झुटा कुरा लगाए। बोलाउँदै नबोलाएको मिडियामा पनि गएर बोले तर उनले आफ्नै नेताले मलाई दिएको क्लिन चिट बिर्से।’

यति मात्रै होईन, उनले आफूमाथि अन्याय हुँदा अदालत पनि साक्षी बसेको गुनासो पनि गरे। उनको यो कुरा सुनेपछि न्यायाधीश पौडेलले त्यसको प्रतिवाद गरे, नरम भाषामा। ‘रविजी, त्यस्तो हैन। अदालतले तपाईं मन्त्री नै भए पनि एउटा सामान्य मान्छेलाई जस्तै अनुसन्धान गर्नुपर्ने हुन्छ र परेको बेला मन्त्री भइसकेको मान्छेलाई दिने सुविधा दिएको छ। यस्तो आरोप नलगाउनुहोस्।’

त्यसपछि लामिछाने न्यायाधीशलाई नै फकाउने भाषा प्रयोग गर्न थाले। ‘तपाईँले छाड्नुप¥यो। म भोलि पनि असल नागरिक भएर बाँच्छु। तपाईँ रिटायर्ड भएर निस्कँदा पनि म यहाँलाई त्यही हिसाबले सम्मान गर्छु।’– भन्दै उनले आफना कुरा राखे।

तर, जिल्ला सरकारी वकिलको कार्यालयले वैज्ञानिक प्रयोगशालाबाट परीक्षण प्राप्त प्रतिवेदन विश्लेषण गर्न बाँकी रहेको, बिमा, शेयर लागत कारोबारका कागजातहरु, बैंक तथा वित्तीय संस्थाबाट झिकाइएका कागजातहरुको विश्लेषण र अभियोगपत्र लेख्न बाँकी रहेको, मुद्दा चल्ने, नचल्ने सबै कुराको विश्लेषण गर्न बाँकी रहेको बताएपछि अदालतले उनको आक्रोश र अनुनय सुनेर निर्णय दिन सकेन।

अदालतले प्रहरीको माग अनुसार त होईन, तर थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। २ कात्तिकमा काठमाडौस्थित पार्टी कार्यालयबाट पक्राउ परेका रविलाई त्यही राति पोखरा लगिएको थियो। अहिले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुशन्धान भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट