रवि लामिछानेको भाईरल फोटोले भुसाल र बोहोरालाई तनाव, के हो २ जनाको ‘भर्चुअल सम्वाद’ को बास्तविक्ता?
काठमाडौँ– सहकारी ठगी प्रकरणमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फोटो निकै चर्चित भयो। यसले चर्चा मात्रै पाएन, प्रहरीको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न चिन्ह लगायो।
बुधबार राती लामिछानेका सहयोगी दीपक बोहोराले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै प्रहरीलाई दोष दिएका थिए। उनले ‘अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनुपर्ला।’ भन्दै स्ट्याटस लेख।
बिहीबार बिहानसम्म उक्त तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भइसकेको थियो। कास्कीका एसपी, सीडीओ मात्रै होईन आईजीपी र गृहमन्त्रीसम्मलाई तनाव दिएको यो फोटो अन्ततः रविकै कार्यकर्ताले खिचेर सामाजिक सञ्जालमा ल्याएको लगभग पुष्टि भईसक्यो।
बोहोराले फेसबुकमा राखेको १२ घण्टा नबित्दै आफूलाई रास्वपाकै ‘शुभचिन्तक’ बताउने चिकित्सक निकोलस भुसालले तस्बिर सार्वजनिक गरेको जिम्मा लिए। उनले उक्त तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताएका छन्।
उनले फोटो खिचेर सञ्जालमा राख्नु गल्ती भएको भन्दै क्षमा पनि मागिसके। तर, गृहमन्त्री रमेश लेखकले फोटो प्रकरण छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न निर्देशन दिईसकेका छन्। घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख तथा वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय समिति नै गठन गरेको छ।
समितिले छानविन गरेर प्रतिवेदन वुझाएपछि कारवाही गर्ने नगर्ने प्रकृया अघि वढ्ला। तर त्यो फोटो सँगै बोहोरा र भुसालबीच ह्वाट्सएपमा भएको कुराकानीको स्क्रिनसट सार्वजनिक भएपछि त्यो विषय अझै ताजै छ। रविका सहयोगी बोहोराले नै डाक्टर भुसाललाई खटाएर प्रहरी हिरासतमा रहेका रवि लामिछानेको फोटो खिचाएको देखिने स्क्रिनसर्ट अहिले चर्चामा छन।
बोहोरा र भुसालबीच भएको देखिने भर्चुअल संवाद ‘लिक’ भएपछि दुवै आप्ठ्यारोमा छन्। जसमा उनीहरुले कसरी फोटो खिच्ने र सञ्जालमा भाइरल गराउने भन्ने योजना बनाएका छन्। तर, बोहोराले भने आफ्नो नामबाट नक्कली अकाउन्ट बनाएर ‘फेक च्याट’ स्क्रिनसट बाहिर ल्याइएको दावी गरेका छन्।
उनले उक्त फोटो आफूले नखिचाएको जिकिर गर्दै यसबारे प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको पनि बताएका छन्। ‘हिजोदेखि निकोलस भुसाल र मबीच कुरा भयो भनेर एउटा फेक च्याट गरेको स्क्रिनसर्ट भाइरल छ। यो के हो भनेर धेरैले मलाई म्यासेज गरिरहेका छन। निकोलस भाइलाई मैले नभेटेकै सात महिना भयो होला। निकोलस पोखरा आएकै मलाई थाहा छैन। फेक च्याट भाइरल बनाउनेहरूविरुद्ध मैले साइबर ब्युरोमा निवेदन दिएको छु।’– उनले भनेका छन्।
बोहराले सात महिनादेखि भुसालसँग भेट नभएको ठोकुवा गरिरहँदा कतिपयले भने उनले झुटो वोलिरहेको दावी गरिरहेका छन्। अघिल्लो महिना पोखराको प्रदर्शनमा उनीहरु सँगै देखिएको बताउनेहरु भन्छन्–‘उनको निकोलससँग सम्वाद भए/नभएको अनुशन्धानले पुष्टि गर्ला। तर, ७ महिनादेखि भेट भएको छैन भन्नुले उनी झुठो बोलिरहेका छन् भन्ने चै पुष्टि हुन्छ।’
भुसालले तस्वीर फेसबुकमा पोष्ट गरेर तत्कालै डिलिट गर्नु, भोजराज थापा लगायतका युट्युबरहरुले त्यसलाई सर्कुलेट गर्नु र बोहराले फेसबुकमार्फत सरकार र प्रहरी प्रशासनको नियतमाथि प्रश्न उठाउनु ! योजनाबद्ध भएको उनीहरुको प्रतिक्रिया छ।
अर्कोतिर, रविको फोटो आफूले खिचेर फेसबुकमा हालेको प्रतिक्रिया दिएका भुसालले भने स्क्रिनसर्टका विषयमा प्रतिक्रिया दिएका छैनन्।