पिंगलास्थानमा प्रेमिकाको हत्या गरेको आशंका गरिएका युवक पनि मृत भेटिए, सुस्मिताको मृत्युको कारण रहस्यमै
काठमाडौँ– काठमाडौँको पिंगलास्थानस्थित होटलमा प्रेमिकाको हत्या गरेर फरार भएको आशंका गरिएका युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा प्रेमिका कागेश्वरी मनोहरा आलापोटकी २१ वर्षीया सुस्मिता खड्काको मृत्यु भएपछि फरार रहेका ओखलढुंगाको सुनकोसी गाउँपालिका–३, सिस्नेरीका २३ वर्षीय देवबहादुर थापा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
शनिबार दिउँसो उनी सिस्नेरीमा झुण्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए। ‘देवबहादुर झुण्डिएको अवस्थामा मृत फेला परेका छन्’ डीएसपीले खड्काले भने–‘घट्नाको थप अनुसन्धान भइरहेको छ।’
सुस्मिताको मृत्युको कारण अझै खुलेको छैन। देवबहादुरसँगै मंगलबार होटेलमा बस्न पुगेकी सुस्मिताको शव गएको बुधबार फेला परेको थियो। सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले निष्कर्ष निकालेको छ।
कोठामा बसेका युवायुवती बाहिरबाट ढोकामा ताला लगाएर सम्पर्कविहीन भएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि बुधबार दिउँसो ताला फुटाएर हेर्दा सुस्मिताको शव भेटिएको थियो।
उनी खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकी थिइन्। सुस्मिता मृत भेटिएको कोठामा रेडबुलको बट्टा समेत भेटिएको थियो। अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा उनले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीका अनुसार सुस्मिताको शरीरमा कतै पनि घाउ चोट पनि देखिएको छैन।
घटनास्थल मुचुलका गर्ने क्रममा सुस्मिताको मुखबाट फिज निस्किए जस्तो पदार्थ देखिएकाले रेडबुलमा विष सेवन गराई हत्या गरेको आशंका प्रहरीको छ। सुस्मिता कोठाबाट बाहिर निस्कन लागेपछि देवबहादुरले बाहिरबाट ताला लगाएर फरार भएको हुनसक्ने प्रहरीको आशंका छ। अनुसन्धानको क्रममा देवबहादुरले सुस्मिताको मोबाइल समेत लिएर गएको खुलेको थियो।
देबबहादुर सुस्मिताकै घर रहेको आलापोटमा डेरा गरेर वस्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवै जना प्रेम सम्वन्धमा थिए। सुस्मिता जापानिज भाषा सिक्दै थिईन भने देवबहादुर ३० मंसिरमा जापानबाट काठमाडौँ आएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ। गएको विहिबार उनको जापान फर्किने फ्लाईट थियो।
यो पनि,
- पिंगलास्थानमा किशोरी हत्या प्रकरणः रेडबुलमा नसालु पदार्थ सेवन गराएको आशंका, मोवाईल बोकेर प्रेमी फरार
- पिंगलास्थानस्थित होटेलमा किशोरीको हत्या गरेको आशंका गरिएका युवक आजै जापान जान लागेको खुलासा
- एक युवकसँगै गौशालाको होटलमा बसेकी थिईन मृत भेटिएकी स्वस्तिका
- कागेश्वरीकी स्नातक तेस्रो वर्षकी छात्रा गौशालाको होटलमा मृत भेटिईन
