नरहामा औषधी खरिदमा भ्रष्टाचारः तत्कालीन प्रशासकीय अधिकृत र लेखापाललाई ६/६ महिना कैद

लहान— सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झ र लेखापाल सुरेश कुसियैतलाई भ्रष्टाचार कसुरमा ६ महिना कैदको सजाय भएको छ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगले दायर गरेको मुद्दाको फैसला गर्दै विशेष अदालतले झा र कुसियैत दुवैलाई दोषी ठहर गर्दै सजाय तोकेको हो।
अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको आईतबारको इजलासले उनीहरुलाई जनही ६ महिना कैद र बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवानासमेत तिर्नुपर्ने आदेश गरेको छ।
आर्थिक वर्ष २०७४÷०७५ मा गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भई खरिद भएका ५७ प्रकारका औषधिजन्य मालसामानमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि ६ महिनाअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
गाउँपालिकाले औषधि खरिदका नाममा २२ लाख ६१ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरेको थियो। तर, अख्तियारको अनुसन्धानका क्रममा १६ लाख ४१ हजारबराबरको औषधि मात्र वितरण भएको देखिएको थियो।