इजलासमै पुगेर निकिताले रविलाई लगाई दिईन् स्वस्थानी व्रत आरम्भको टीका, वहस जारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पत्नी निकिताले काठमाडौँ जिल्ला अदालतको इजलासमै स्वस्थानी व्रत आरम्भको टीका लगाइदिएकी छन्।

थुनछेक बहसको क्रममा इजलासमा उपस्थित भएका लामिछानेलाई निकिताले माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका लगाई दिएकी हुन। हिन्दु समाजमा रातो टीकालाई शुभ र सफलताको प्रतीक मानिन्छ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगी आरोपमा लामिछानेको थुनछेक बहस जारी छ। न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका छन्। तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन्। रविविरुद्ध बहस गर्नेको सूचीमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जना अधिवक्ता छन्।

सरकारी वकिलको बहसपछि रविका पक्षबाट पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन्। उनीहरूका लागि न्यायाधीश अधिकारीले सवा १ घण्टा समय दिएका छन्।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।कालिमाटीमा मुख्य कार्यालय रहेको यस सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ मा मुद्दा दायर भएको थियो।

यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन्। मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्। पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका थिए। आइतबार बयान भए पनि बहस हुन सकेको थिएन।

अदालतले हिजो उनलाई न्यायिक हिरासतमा पठाएको थियो। हिरासतमा पठाउने आदेश अघि रविले घर पठाइदिन न्यायाधीश समक्ष बिन्ती गरेका थिए। पूर्वमहान्यायाधिवक्ता समेत रहेका सुशील पन्तले हिरासतमा पठाउनु भन्दा वरु आफुहरुको जिम्मामा छोड्न पनि आग्रह गरे।

त्यसपछि रविले थपे, ‘म आफैँ हाजिर हुन आएको हुनाले श्रीमान्। यस्तो अभ्यास पनि भएकाले र प्रक्रियामा पनि गइसकेकाले। मेरो विनम्र अनुरोध हो श्रीमान्। तर, त्यायाधीशले उनीहरुको आग्रहलाई स्विकार गरेनन्। त्यसपछि न्यायाधीशले भने, ‘मैले सधैँजस्तै आदेश गरेँ, ल आज उहाँलाई प्रहरीको जिम्मा लगाएर पठाऊँ, भोलि सुरु गरौँ।’

त्यसपछि ‘हुन्छ श्रीमान्, यहाँको आदेश म विनम्रतापूर्वक स–सम्मान स्वीकार गर्छु,’ भन्दै रविले दुई हात जोडेर नमस्कार गरे। त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट