‘रवि लामिछानेले खाता खोलेरै ऋण लिएको प्रमाण स्वर्णलक्ष्मी सहकारीको सफ्टवेयरमा भेटियो’

काठमाडौँ— सहकारी ठगी प्रकरणमा ‘थाहा छैन’, ‘जान्दिन’ र ‘सहकारीको एक पैसा पेटमा परेको छैन’ भन्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले ऋण लिएको रेकर्ड काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको सफ्टवेयरमा फेला परेको छ।

सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले लामिछानेले स्वर्णलक्ष्मी सहकारी संस्थामा खाता खोलेरै ऋण लिएको र त्यसको प्रमाण सर्भरमा रहेको सफ्टवेयरमा समेत भेटिएको दावी गरेका छन्। सोमबार काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक वहसका क्रममा लामिछानेलाई पुर्पक्षका लागि थुनामै पठाउनुपर्ने आधार प्रश्तुत गर्दा कटुवालले उनी विरुद्ध बलियो प्रमाण रहेकाले छोड्न नमिल्ने तर्क गरेका थिए।

उनीपछि जिल्ला न्यायाधिवक्ता चन्द्र सञ्जेल, बिना खड्का, सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि शर्मालगायतले बहस गरेका थिए। उनीहरुले कानुनअनुसार ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्ने फौजदारी न्यायको नियमलाई लामिछानेका हकमा पनि पालना गर्नुपर्ने जिकिर गरेका थिए। लामिछाने विरुद्ध ठगी कसुरमा ७ वर्षसम्म र संगठित अपराधमा साढे तीन वर्षसम्म गरी साढे १० वर्षसम्म कैद हुने अभियोग लागेकाले छोड्न नमिल्ने उनीहरुको तर्क थियो।

जाहेरवालाका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले लामिछानेले विभिन्न मितिमा सहकारीबाट रकम अपचलन गरेका ८ सयभन्दा बढी चेक भेटिएको र त्यसको जिम्मेवारी कम्पनीको प्रबन्ध निर्देशकका हैसियतले लिनुपर्ने कानुनी प्रावधान भएको भन्दै उनलाई धरौटीमा छाड्न नहुने तर्क गरेका थिए।

स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेलगायत ३९ विरुद्ध काठमाडौंमा गत २१ पुसमा मुद्दा दायर भएको थियो। लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको ५ करोड ८ लाख रुपैयाँ अपचलन गरेको अभियोग छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट