२४ क्विण्टल गाँजा बरामद भएको गोदाम कस्को, यस्तो छ प्रमाण

राजविराज– सप्तरीका सीडीओ भोला दाहालको नेतृृत्वमा सोमबार राजविराज नगरपालिका–९, मलेठमा छापामारी गरी २४ क्विण्टल गाँजा र अन्य सामग्री बरामद गरेको गोदाम साविक डाढा गाविस–९ (हाल– महदेवा–४) घर भएका राजनारायण साहको नाममा रहेको पाईएको छ।
महेन्द्र नारायण साहका छोरा राजनारायण नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिताकुमारी साहका श्रीमान हुन। उक्त गोदाम साविक मलेठ गाविस– १ को कित्ता नं. १४६२ हाल राजविराज नगरपालिका–९ को कि.नं. १६१२ मा छ।
उक्त गोदाममा केही समयअघिसम्म ललिताका श्रीमान राजनारायणले नै काँटी उद्योग सञ्चालन गरेका थिए। अहिले काँटी उद्योग वन्द भएको छ। त्यसपछि ललिताकुमारी साह आफैं स्थानीय तहमा स्यानिटरी प्याड सप्लाई गर्ने कार्यमा संलग्न थिईन। रुपनी गाउँपालिका तथा शम्भुनाथ नगरपालिकालगायतका स्थानीय तहमा उनको नाममा भएको लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजले स्यानिटरी प्याड सप्लाई गरेको थियो।
उनले भारतबाट स्यानिटरी प्याड ल्याएर स्थानीय तहलाई दिने गरेकी थिईन। रुपनी गाउँपालिकामा उनले उपलब्ध गराएको स्यानिटरी प्याडमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले त्यो विषयमा छानविन समेत गरेको थियो।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मुद्दा चलाएपछि उनले हतार–हतार अनियमितता भएको रकम जम्मा गरेकी थिईन। त्यसपछि उनले विशेष अदालतबाट सफाई पाएकी थिईन। तर, विशेष अदालतको त्यो निर्णय विरुद्ध अख्तियारले पुनरावेदन गरेको छ।
यो प्रसंग किन जोडिएको हो भने ललिताले स्थानीय तहमा दिनका लागि भारतबाट ल्याएको स्यानिटर प्याड सोही गोदाममा राख्ने गरिएको थियो। सोमबार छापामारी हुँदा गोदाममा स्यानिटरी प्याडका प्याकेटहरु समेत फेला परेका छन्। यो प्रकरणले उक्त गोदाम राजनारायण र ललिताले नै प्रयोग गरिरहेको पुष्टि हुने देखिन्छ।
तर, उक्त गोदाम रोशन यादव नामका ब्यक्तिलाई भाडा लगाएको वताईएको छ। तर, राजविराज नगरपालिकाले यो दावीलाई पुष्टि गरेको छैन। नगरपालिकाका अनुसार उनीहरुले गोदाम भाडा लगाए वापत नगरपालिकालाई तिर्नु पर्ने घर वहाल कर वुझाएको देखिएको छैन।
यद्यपी ललिता साहले भने शीर्षखबरमा छापिएको समाचार गलत भएको र आफनो नाममा कुनै सम्पत्ति नभएको भन्दै खण्डन पठाएकी छिन्। यतिमात्रै होईन, ललितालाई वचाउन सिंगो पत्रकार महासंघको सप्तरी शाखा नै लागेको छ। अध्यक्ष श्रवण देवले फेसवुक स्ट्याटस लेखेरै समाचार गलत भएको पुष्टि गर्न खोजेका छन्। यस विषयमा शीर्षखबर डटकम विरुद्ध सोमबारै प्रेस काउन्सिल नेपालमा समेत उजुरी गरिएको छ।
उक्त गोदामबाट सोमबार २ हजार चारसय १९ किलो गाँजा बरामद भएको थियो। रुपनीबाट राजविराज आउँदै गरेको बेला सीडीओ दाहालले सडक छेउमा रहेको गोदाममा दुईवटा ट्रकमा सामान अनलोड भइरहेको देखेपछि शंका लागेर सोधखोज गर्दा गोदामबाट गाँजा बरामद भएको हो। स्याउ गोदाममा सामान लोड भइरहेको देख्दा शंका लागेपछि उनी अनुगमनमा गएका थिए।
ताला फुटाएर गोदामभित्र प्रवेश गर्दा ८० बटा बोरामा प्याक गरिएको २ हजार ४ सय १९ किलो गाँजा, तयारी कपडा, सुर्ती, प्लम्बिङको सामानसमेत बरामद भएको छ। यस्तै ट्रकबाट १ सय ४२ कार्टुन स्याउसमेत नियन्त्रणमा लिएको छ।
गोदामबाट एउटा भारतीय नम्बर प्लेटको स्कारपियो र एउटा कार समेत नियन्त्रणमा लिइएको छ। बरामद स्कारपियोमा तत्काल भारतीय नम्बर प्लेट लगाइएको भए पनि भित्र दुईवटा नेपाली नम्बरको प्लेट भेटिएको स्कारपियोको भित्री भागमा सिट छैन। स्याउ लोड अनलोड गर्दे गरेको दुवै ट्रक पनि नियन्त्रणमा लिएको छ।
प्रहरीले गोदाम कुरेर बसेका बिहार मधुवनीका रामनारायण यादव, को १ ख ५२१५ नम्बरको ट्रकका चालक सप्तरी खडग नगरपालिका १० का देवनारायण पासमान,लोड अनलोडमा संलग्न बिहारको सुपौल जिल्ला निर्मलीका राजाकुमार साह र असलम खानलाई पनि नियन्त्रणमा लिइएको छ।
यो पनि,
- पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता साहको गोदाममा सीडीओको छापा, ३२ क्विण्टल गाँजा बरामद (फोटो फिचर)
- रुपनीमा सेनिटरी प्याड भ्रष्टाचार प्रकरणः उजुरीकर्तालाई गोलीले उडाउने धम्की (अडीयोसहित)
- स्थापना दिवसका दिन प्रेस युनियनको नाटकः अख्तियारले डामेका मान्छे उचालेर पत्रकार महासंघमा ताला
- ‘सेनीटरी प्याड’ भ्रष्टाचार प्रकरणमा नेपाल पत्रकार महासंकी केन्द्रीय सदस्य ललिता साह ‘मतियार’
- भ्रष्टाचार आरोपीसहितको समिति बनाएर सीडीओको बजार अनुगमन
- ‘स्यानीटरी प्याड’ भ्रष्टाचार प्रकरणमा सप्तरीपछि धनुषामा पनि पत्रकार नै मुछिए, ९ जनाविरुद्ध मुद्दा
- रुपनीमा स्यानेटरी प्याड किन्दा भ्रष्टाचारः तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा
- औषधी खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि रुपनीमा फेरी पस्यो अख्तियार