इलन मस्कको ‘डज’ यात्रा टुंगियो, ट्रम्पसँग दूरी बढ्दै

काठमाडौँ — ‘सरकारी खर्च कटौती गर्ने अर्बौंको सपना लिएर’ ट्रम्प प्रशासनमा प्रवेश गरेका टेस्ला कम्पनीका प्रमुख इलन मस्क अन्ततः त्यही सरकारबाट चुपचाप बाहिरिएका छन्।

मस्कले ट्रम्पको विश्वास जित्दै ‘विशेष सरकारी कर्मचारी’को रूपमा ह्वाइट हाउसको ‘डज’ विभागको जिम्मा सम्हालेका थिए — जसको उद्देश्य थियो, अमेरिकी संघीय खर्च ब्यापक रुपमा घटाउने।

तर सय दिनमै दृश्य बदलिएको छ। न त मस्कको प्रभाव कायमै रहन सक्यो, न त ट्रम्पको अडान। मस्कको नेतृत्वमा खर्च २० ट्रिलियन डलरबाट १५० अर्बमा झारेको दाबी गरिए पनि राजनीतिक र सार्वजनिक आलोचना उनका लागि भारी पर्न थाल्यो। हालै उनले आफ्नै स्वामित्वको एक्स (पूर्व ट्विटर) मा सरकारी जिम्मेवारी अन्त्य भएको घोषणा गरेका छन्।

उनले पछिल्लो समय ट्रम्पको ट्यारिफ र एआई नीति विरुद्ध खुलेर आलोचना गर्न थालेका थिए। मिडियाहरुका अनुसार यो प्रकरणमा ट्रम्प सरकारका एक वरिष्ठ अधिकारीले उनलाई ट्रम्पको सामू नै झपारेका थिए। विस्कन्सन राज्यमा भएको एक चुनावमा राम्रो पैसा खर्च गरेर पनि रिपब्लिकन उम्मेद्वारले हार ब्यहोर्नु परेको थियो।

यी अनेकौं कारणले उनीप्रति रिपब्लिकन नेताहरू र मिडियामा असन्तोष ब्यापक रुपमा वढेको थियो। उनको आफनो कम्पनी टेस्लाको सेयर मूल्य पनि ३३% ले घटेर व्यवसायमा संकट व्यहोर्दै आएका छन्।

ट्रम्पसँग पनि उनको दुरी वढेको संकेतहरु देखिएका छन्। झण्डै एक महिनायताका कुनै पनि ट्रुथ सोसल पोस्टमा ट्रम्पले मस्कको नाम लिएका छैनन्। सन् २०२६ को मध्यकालीन चुनावका लागि अत्याधिक अलोकप्रिय देखिन थालेपछि रिपब्लिकन पार्टीले समेत मस्कबाट टाढिन सुरू गरेको एपीले उल्लेख गरेको छ। ट्रम्पले मार्चमा नै सार्वजनिक रूपमा भनेका थिए, ‘मस्क सरकार छाड्दै छन्।’

ट्रम्पका सहयोगीहरूले पनि मस्कको व्यवहारलाई ‘बोझिलो’ भन्दै आलोचना गर्न थालेका छन्। अमेरिकाको ठूलो चुनावी लगानीकर्ता मानिने मस्कले अब राजनीतिक चन्दा कटौती गर्ने र व्यवसायमै ध्यान केन्द्रित गर्ने घोषणा गरेका छन्।

टेस्ला, एक्स, स्पेसएक्स लगायत कम्पनीहरूमा आलोचना र बजार घट्दै गइरहेका बेला मस्कले अबको समय ‘फोकस र पुनर्निर्माण’ को भएको बताएका छन्।

यता, ट्रम्प सरकारको ‘डज’ विभाग नयाँ नेतृत्वमा जारी रहने भए पनि मस्कको प्रभावको संरचना भने खुम्चिने विश्लेषकहरूको ठम्याइ छ। उनको बहिर्गमन ट्रम्प प्रशासनको राजनीतिक लचकता, निजी व्यवसायसँगको सम्बन्ध र शक्ति सन्तुलनप्रतिको दृष्टिकोणमा गम्भीर प्रश्नहरू खडा गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट