‘प्रश्न गर्छु’ भन्नासाथ लात्ती–मुका र हिरासतः जनयुद्धका कमाण्डरले गणतन्त्रमा आलोचना सहँदैनन?

काठमाडौँ– शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्न खोज्ने युवा कुटिएको विषय अहिले चर्चामा छ।
सामाजिक सञ्जालमा उनले दाहाललाई प्रश्न गर्न खोजेको जमर्को र प्रश्नबाट भागिरहेका दाहालको जवाल–जवाफको भीडीओ भाईरल छ। यसरी अध्यक्ष दाहाललाई कार्यक्रममा बीचमै प्रश्न गर्न खोज्ने ब्यक्ति सूर्यगढी गाउँपालिका–२ बोहोरेका बासिन्दा जनार्दन अधिकारी हुन।
शनिबार जहाँ कार्यक्रम भयो, त्यो विगतमा उनले आफै पढेको विद्यालय हो। अहिले उनी काठमाडौँको धुम्बाराहीमा बसेर नेटतिर काम गर्छन। विगतमा उनले विद्यालयलाई केही सहयोग पनि गरेका थिए। सोही कारण उनलाई कार्यक्रममा निम्ता भएको थियो।
तर, प्रश्न गर्न खोजेकै कारण माओवादीको भातृ संगठन वाईसीएलका कार्यकर्ताले उनलाई मुक्का र लात्ती वर्साए। राजा फर्काउने अभियानमा लागेको राप्रपाका वडा सचिवसमेत रहेका अधिकारीले कार्यक्रममा सम्बोधन गरिरहेका दाहाललाई दर्शकदीर्घाबाट प्रश्न गर्न खोजे।
तर दाहालले उनलाई प्रश्न सोध्न अनुमति दिएनन्। यो समय प्रश्नोत्तरका लागि नभएको भन्दै उनले जवाफ दिए। त्यसपछि पनि अधिकारीले आफनो अडान छोडेनन्। उनले ‘नागरिकको हैसियतमा एउटा प्रश्न गर्न चाहन्छु’ भन्दै बोल्न खोजे। त्यसपछि दाहालले भने– ‘नागरिक छाड्नुस न, यहाँ समय छैन’ भन्दै सम्बोधन अगाडि बढाए।
केहीबेरमा कार्यक्रम सकिएपछि अधिकारीलाई प्रहरीले नियन्त्रणमा लियो। प्रहरीले लाँदै गर्दा उनीमाथि वाईसीएलका कार्यकर्ताले हातपात गरे। उनको नाक र मुखमा चोट लागेको छ। घटना स्थलमै अधिकारीको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो।
केही समय प्रहरी हिरासतमा राखेपछि उनलाई छाडिएको थियो। अधिकारीले आफू विद्यालयबाट वोलाईएपछि गरेको बताए। उनले अध्यक्ष दाहाललाई सोध्न चाहेका प्रश्नहरू भने माओवादी नेतृत्वले शिक्षामा लिएको नीतिसँग जोडिएका थिए।
उनका अनुसार जनयुद्धकालमा ‘बुर्जुवा शिक्षा’ भन्दै माओवादीले संस्कृत र नैतिक शिक्षा जस्ता विषयको विरोध गरेको थियो। किताव जलाईएका थिए, संस्कृत पढाउने शिक्षकलाई कुटपिट गरिएको थियो। माओवादीको यही नीतिका कारण कतिपय युवाहरु आफनो शैैक्षिक प्रमाण पत्र समेत च्यातेर माओवादीमा होमिएका थिए।
तर गणतन्त्रपछि पहिचानको रक्षा भन्ने माओवादी स्थानीय भाषाको संरक्षणमा गम्भिर देखिएको छैन। तामाङ, गुरुङ, नेवारी, मैथिलीजस्ता स्थानीय भाषाहरू पाठ्यक्रममा प्रभावकारी रूपमा समेटिएका छैनन।
अधिकारीले यस्ता भाषाहरू लोप हुँदै गएको र पहिचान संरक्षणको कुरा नारामै सीमित भएको भन्दै अध्यक्ष दाहाललाई प्रश्न गर्न खोजेका थिए। ‘जसले बोर्डिङ स्कुल जलायो, उनीहरू नै आज करोडौं लगानीमा निजी विद्यालय चलाइरहेका छन। यस्तो अवस्थामा माओवादी नेतृत्वले सरकारी विद्यालयको हितमा काम गर्छ कि आफ्नै कार्यकर्ताको स्कुललाई लाभ पुर्याउँछ?’ भनेर उनी दाहाललाई प्रश्न गर्न चाहान्थे। तर, प्रश्न सोध्न खोज्दै खेरी उनी दाहालका कार्यकर्ताबाट कुटिए।
प्रश्न गर्न नपाउने स्थिति उत्पन्न हुनु लोकतन्त्रकै अपमान भएको ठान्छन, उनी। घटनापछि सामाजिक सञ्जालमा यो विषय तीव्र रूपमा फैलिएको छ। नागरिकले नेतासँग प्रश्न गर्न नपाउने हो भने यस्तो गणतन्त्रको औचित्य के हो भनेर प्रश्न उठाइरहेका छन्।
कार्यक्रमस्थलमा सहभागी कतिपयले युवकलाई प्रश्न गर्न पाउनुपर्नेमा धरपकड गर्नु अन्यायपूर्ण भएको बताएका थिए। यो विषयमा अध्यक्ष दाहालको सुरक्षासम्बन्धी चिन्तालाई लिएर पनि विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। विगतमा दाहालमाथि चड्कन र जुत्ता प्रहारजस्ता आक्रमणका प्रयासहरू भएका थिए। यही कारण उनको सुरक्षा टोली सजग भएको अनुमान गरिए पनि प्रश्न उठाउँदैमा उनीमाथि असुरक्षा हुने कस्तो अवस्था हो ? भनेर पनि प्रश्न उठाईएको छ। त्यसमाथि प्रश्न गर्छु भन्ने व्यक्तिलाई हातपात हुनु र प्रहरीले नियन्त्रणमा लिनु गम्भीर मानिएको छ।
माओवादी सांसद हितबहादुर तामाङले दाहाल बोलिरहँदा असान्दर्भिक रूपमा आवाज उठाइएकोले स्थिति असहज बनेको बताएका छन। हातपातबारे भने आफूलाई जानकारी नभएको उनको प्रतिक्रिया छ। राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले प्रश्न उठाएको भरमा भएको व्यवहारलाई लोकतन्त्रको अपमान भन्दै निन्दा गरेका छन।
प्रचण्डले के भने र जनार्दन प्रश्न गर्न उठे ?
सम्बोधनका क्रममा दाहालले गणतन्त्र आएपछि केही पनि भएन र सबै बर्बाद भयो भनेर भाष्य सिर्जना गर्न खोजिएपनि त्यो सबै गलत भएको बताएका थिए। लोकतन्त्र÷गणतन्त्रपछि देशमा भौतिक पूर्वाधार विकासको कुरा गर्ने हो भने क्रान्तिकारी परिवर्तन भएको बताएका थिए। ‘तथ्यद्वारा प्रमाणित गर्न सकिन्छ। स्वास्थ्यको क्षेत्रमा कुरा गर्ने हो भनेपनि धेरै ठुलो सकारात्मक परिवर्तन भएकै छ। हिजो राजतन्त्र हुँदा, निरंकुशतन्त्र हुँदा नेपालीहरूको सरदर आयु ५८/५९ पनि पुगेको थिएन, अहिले ७२ वर्ष पुगेको छ।’– दाहालले भनेका थिए।
गणतन्त्रले स्वास्थ्यको क्षेत्रमा गरेको सुधारले यो अवस्था आएको उनको भनाइ थियो। उनले राजतन्त्रको बेलामा भन्दा गणतन्त्रमा बालमृत्युदर धेरै घटेको, जनताले आफ्नो गाउँठाउँमा सेवा पाउने वातावरण बनेको लगायतका दाबी गरेका थिए। सँगै राजावादीले केही मान्छेलाई भाडामा ल्याएर उफार्दैमा यति ठुला संघर्ष र बलिदानबाट प्राप्त भएको गणतन्त्रलाई खतरा आइसक्यो भन्नुचाहिँ सत्य नभएको बताएका थिए।
‘जनतामा देखिने यो आक्रोश गणतन्त्रप्रतिको आक्रोश र असन्तुष्टि होइन। कतिपय नेताहरू र नेतृत्वले गलत काम गरेको कुराले त्यसबाट नाजायज फाइदा उठाउनचाहिँ राजावादीहरुले जमर्को गरेको चाहिँ गरेका छन। तर त्यो कहिल्यै सफल हुँदैन।’ भनेर दाहालले आफनो कुरा राखेपछि अधिकारीले उठेर प्रश्न गरेका थिए।