प्रश्नको जवाफ होइन, मुक्का र लात्तीः प्रचण्डलाई प्रश्न गर्दा वाईसीएलद्वारा पत्रकारमाथि आक्रमण

काठमाडौँ– काठमाडौँको प्रज्ञा भवनमा आयोजित वाईसीएल (योङ कम्युनिष्ट लिग) को कार्यक्रममा एक पत्रकारमाथि माओवादी कार्यकर्ताले कुटपिट गरेका छन। घटनास्थलमा रिपोर्टिङका लागि पुगेका एनपीएल प्रेसका सञ्चालक पत्रकार सुरज खड्कामाथि वाईसीएल कार्यकर्ताले कुटपिट गरेका हुन।
पत्रकार सुरजका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल कार्यक्रमस्थलमा प्रवेश गर्दै गर्दा उनले सामान्य प्रश्न सोध्न खोजेका थिए। ‘गाडीबाट झरेर हलमा छिर्दै गर्दा मैले प्रश्न सोध्न खोजें। तर प्रचण्डले फर्केर गाली गरे। यो प्रश्न सोध्ने टाइम हो? भनेपछि वाईसीएल कार्यकर्ता ममाथि आइलागे।– उनले भने।
आफूलाई कार्यक्रमस्थलको एउटा कोठामा लगेर करिब २०–२५ जना कार्यकर्ताले झ्यापझुप पारेर कुटपिट गरेको उनले बताएका छन। ‘कोहीले टाउकोमा मुक्का हान्यो, कोहीले ढाडमा लात्ती हान्यो। मोबाइल पनि खोसे। अहिले पनि फिर्ता भएको छैन।’– खड्काले भने।
घटनापछि सुरज नक्सालसम्म स्कुटरमा भागेका थिए र त्यहाँबाट साथीलाई सम्पर्क गरी उपचारका लागि काठमाडौं मेडिकल कलेज भर्ना भएका छन्। यो पछिल्लो दुई दिनमा माओवादी कार्यकर्ताले पत्रकार वा नागरिकमाथि प्रश्न गर्ने निहुँमा आक्रमण गरेको दोस्रो घट्ना हो।
हिजो मात्रै नुवाकोटमा एक विद्यालयको कार्यक्रममा दाहाललाई प्रश्न गर्न खोजेका एक राजावादी युवकमाथि माओवादी कार्यकर्ताले हातपात गरेका थिए। उक्त घट्नालाई लिएर दाहालले पछुतो मानेका छैनन, बरु राजावादीलाई ठिक पारेको भन्दै गर्व गरेका छन्।
वाईसीएलको सम्मेलनको उद्घाटन गर्दै उनले नुवाकोटमा अराजकता देखाएपछि जनताले नै उक्त युवकलाई प्रतिवाद गरेको जिकिर गरे। घटना सम्झिँदै उनले आफूले बोलिसकेको र यो प्रश्न गर्ने कार्यक्रम नभएको भनेर बताए पनि अराजक शैलीमा ति युवाले प्रस्तुत भएपछि कुटिएको उनको भनाइ थियो । ‘मैले सम्झाउँदा सम्झाउँदै नमानेर अराजकता देखाएपछि हामीले होइन जनताले नै प्रतिवाद गरेका हुन। उसले राम्रै भेट्यो। उसले जीवनभरी पुग्ने भेट्यो।’– उनले हाँस्दै भने।
उनले आफूहरुमाथि वा व्यवस्थामाथि आइलाग्नेमाथि जाइलाग्ने बताउँदै वाईसीएलका कार्यकर्तालाई त्यस किसिमको तयारी पनि गर्न आग्रह गरे।