सिरहामा झाडीमा भेटियो करिव एक साताको शिशु, अवैध सम्बन्धबाट जन्मिएको आशंका

लहान— सिराहाको धनगढीमाई नगरपालिका–९, मुसहर्नियास्थित धमिनी थाननजिकको झाडीमा नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ।
आइतबार अपराह्न करिब ४ बजे स्थानीय बालबालिकाले रोएको आवाज सुनेपछि जानकारी पाएर प्रहरीले शिशुको उद्धार गरेको हो।
पश्चिम–पूर्व राजमार्गको उत्तरतर्फ आरके मेडिसिटी अस्पतालदेखि करिब ५० मिटरको दूरीमा बरको रुखमुनि कपडामा बेरिएको नवजात बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। प्रारम्भिक परीक्षण अनुसार, शिशुको जन्म करिब ७–८ दिनअघि भएको हो।
प्रहरीले नवजात शिशुलाई तत्काल उद्धार गरी नयनपुर अस्पतालमा प्राथमिक उपचार गराएको छ। उपचारपछि बाल हेल्पलाइनमा सम्पर्क गरी संरक्षणको प्रक्रिया अगाडि बढाइएको डिएसपी पासवानले बताए।
घटनास्थलमा पुगेका वडाध्यक्ष प्रकाश योञ्जनका अनुसार, उपचारपछि गाउँकी एक महिलाले आफ्नै ११ महिनाको बच्चासँगै नवजात शिशुलाई दुध खुवाएर राखेकी छिन। शिशुलाई ओढाइएको कपडा सरकारी अस्पतालमा सुत्केरी गराउँदा दिइने किसिमको देखिएको जनाईएको छ।
प्रारम्भिक अनुमान अनुसार पूर्वतर्फको कुनै सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराई बालिकालाई मुसहर्नियामा ल्याएर फालिएको हुनसक्ने देखिएको छ। शिशुलाई फालिएको अवस्था, स्थानको चयन र पहिचान लुकाउने प्रयासले अवैध सम्बन्धबाट जन्मिएको वा छोरी भएकै कारण त्यागिएको हुन सक्ने आशंका प्रहरीको छ।
तर, हालसम्म आमाबुबाको पहिचान खुलेको छैन। सिराहाका सीडीओ विश्वप्रकाश अर्यालले बाल हेल्पलाइनमार्फत संरक्षण प्रक्रिया अघि बढाइएको बताए। ‘बालिकालाई संरक्षकत्वमा दिन पालिका बालकल्याण अधिकारी र वडाको सिफारिस आवश्यक पर्छ,’ उनले भने।