छतमा सेकुवा पोल्दा उडेको धुवाँ देखेर छिमेकीले दमकल बोलाए, दमकल पुगेपछि सवै जिल्ल

काठमाडौँ– ललितपुरको इमाडोलमा शुक्रबार साँझ एउटा पाँचतले घरको छतबाट बाक्लो धुवाँ निस्कँदा छिमेकीहरू आत्तिए। आगलागी भएको आशंकामा उनीहरूले दमकलसमेत बोलाए। केहीबेरमै दमकल घटनास्थल पुग्यो। तर त्यहाँ आगो निभाउने खालको आपतकालीन अवस्था भने थिएन।

सामाजिक सञ्जालमा अहिले उक्त घटनाको भिडियो व्यापक रूपमा भाइरल बनेको छ। छतबाट धुवाँ र बेलाबेला देखिने आगोको लप्कोका कारण छिमेकीले लाई अत्तालिएको दृश्यसहित भिडिओमा ‘दमकलको पेट्रोल खर्च कसले तिर्छ?’ भन्ने टिप्पणीसमेत सुनिन्छ।

घटनाबारे ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाछेथुले छतमा कसैले आगो बालेको देखिएको पुष्टि गरे। ‘त्यहाँ पुग्दा आगो ताप्न होइन, सम्भवतः सेकुवा पोल्न बालिएको थियो। छिमेकीले देखेर आगो लाग्यो भनेर हतारहतार खबर गरेका रहेछन्।’

दमकल पुग्दा आपतकालीन अवस्था नदेखिएको र पानी पनि हाल्नु नपरेको उनको भनाई छ। उनका अनुसार त्यो ठाउँ महालक्ष्मी नगरपालिका र ललितपुर महानगरको सिमानामा पर्ने भएकाले दुवैतर्फबाट दमकल र प्रहरी परिचालन गरिएको थियो।

‘उपत्यकामा अहिले त्यस्तो चिसो छैन कि आगो ताप्नै पर्ने होस्। आगो त सेकुवा बनाउनै बालिएको होला,’ हाछेथुले भने।

नगरप्रहरीले छतमा खुला आगो बाल्दा दुर्घटनाको जोखिम हुने भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट