बगरमा बालुवा खोतलेर गाँजा खोज्दै प्रहरी, ३८ बोरामा ११२० किलो भेटियो

विराटनगर– सुनसरीको कोसी कटानको बगरमा बालुवा खोतलेर प्रहरीले ३८ बोरा गाँजा फेला पारेको छ। भारत तस्करीको तयारीमा रहेको आशङ्कासहित सूचनाका आधारमा खोजी थालेको प्रहरीले १ हजार १२० किलो गाँजा बरामद गरेको हो।
मंगलबार साँझ ५ बजे प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको नेतृत्वमा प्रहरी चौकी घुस्की, इलाका प्रहरी कार्यालय देवानगञ्ज र सुरक्षा बेस वसन्तपुरको टोली घटनास्थलमा खटिएको थियो। सुनसरीको हरिनगरा गाउँपालिका–५ र ६ को सिमानास्थित कोसी कटानको बगर क्षेत्रमा बालुवामुनि लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको हो।
प्रहरीका अनुसार ३८ वटा प्लास्टिकका बोरामा प्याक गरिएको गाँजा खोलाको किनारको बालुवामुनि गाडिएको अवस्थामा फेला परेको थियो। बरामद गाँजाको तौल १ हजार १२० किलो रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए।
उनका अनुसार यस किसिमको परिमाणको गाँजा सीमाक्षेत्रबाट बरामद हुनु गम्भीर विषय हो र भारत तस्करीका लागि पूर्वतयारी गरिएको देखिन्छ। बरामद भएको स्थान भारतको सीमाक्षेत्रसँग निकै नजिक पर्छ।
यो भेगमा नेपालबाट भारततर्फ लागूऔषध तस्करी हुने गतिविधिहरू पहिले पनि फेला पर्दै आएका छन। प्रहरीको प्रारम्भिक अनुमान अनुसार गाँजा भारत लैजाने योजनामा संलग्न गिरोहले खोलाको बगरलाई अस्थायी गोदामका रूपमा प्रयोग गरेको देखिन्छ।
बरामद गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। अहिले गाँजासँग सम्बन्धित तस्करहरूको पहिचान र पक्राउ अभियान तीव्र बनाइएको प्रहरीले जनाएको छ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा जस्ता जिल्लाहरूमा भारतसँगको खुला सीमाका कारण लागूऔषध ओसारपसार रोक्न सुरक्षा निकायहरूलाई चुनौतीपूर्ण बन्दै गएको छ। पछिल्लो समय कोशी प्रदेश प्रहरीले यस्तो किसिमको कारोबारमाथि निगरानी र सशक्त खोज अभियान सञ्चालन गरिरहेको छ।