अमेरिकामा दुई बालबालिकासहित एकै परिवारका चार जना नेपालीको गोली हानी हत्या

काठमाडौँ— अमेरिकी भर्जिनियास्थित मनासस पार्क शहरमा रहेको एक घरमा नेपाली मूलका दुई बालबालिकासहित ४ जनाको शव फेला परेको छ। यो घट्नालाई ‘एकै परिवारमाथिको संभावित सामूहिक हत्या’ का रूपमा हेरिएको छ।

स्थानीय समयअनुसार बिहीबार राति १० बजेर ४० मिनेटमा प्रहरीलाई घरधनीले खबर गरेका थिए। प्रहरीले चारै जना मृत फेला पारेका हो। भुइँतलामा बस्दै आएका उनीहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ।

मृतक सबैको शरीरमा गोली लागेका चोट देखिएको र घटनास्थलबाट बन्दुक समेत बरामद गरिएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक विवरणले हत्या पछि आत्महत्या भएको संकेत देखिएको छ। तथापि, अनुसन्धान अझै प्रारम्भिक चरणमा रहेकाले निश्चित निष्कर्षमा पुग्न बाँकी रहेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, चारैजना हालसालै नेपालबाट अमेरिका गएका थिए। उनीहरू मनासस पार्कको एउटा घरमा भाडामा बसेका थिए। त्यही घरका मालिकले केही अनौठो देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाले अमेरिकामा बस्ने नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। शान्त र सामान्य देखिने परिवारमा यस्तो घटना किन र कसरी घट्यो भन्ने प्रश्नले छिमेकीहरू अचम्मित छन। हाल घटनास्थलमा मनासस प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ भने विस्तृत जाँचका लागि अन्य संघीय निकायहरू पनि खटिएका छन।

अन्य नेपाली आप्रवासीहरूसँग पनि सोधपुछ भइरहेको एनबीसी वाशिङ्टनले जनाएको छ। यो त्रासदीले प्रवासमा रहेका नेपाली आप्रवासीहरूको मानसिक स्वास्थ्य, आर्थिक दबाब, र आपसी सम्बन्धको अवस्थाबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट