नेपालका चर्चित गायक दुर्गेश थापालाई जापानले भिसा दिन मानेन, के कारण ?

काठमाडौँ — नेपालका चर्चित गायक दुर्गेश थापालाई जापानी दूतावासले भिसा दिन अस्वीकार गरेको छ। ओसाकास्थित कान्साइ सहरमा जुन १४ र १५ तारिखका दिन आयोजना हुने ‘नेपाल महोत्सव २०२५’ मा सहभागी हुन जापान जान लागेका थापा भिसा नपाएपछि रोकिएका छन्।
उक्त कार्यक्रम गल्कोट समाज जापानले नेपाली दूतावाससँगको समन्वयमा आयोजना गर्न लागेको हो। जसमा, दुर्गेश, विष्णु खत्री र अनिता चलाउनेलाई नेपालबाट निमन्त्रणा गरिएको थियो। आयोजकले कार्यक्रमको प्रचारप्रसारमा दुर्गेशलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरेका थिए।
स्रोतका अनुसार सुरुमा आयोजकले तीनै जनाको कागजात जापान पठाएका थिए। विष्णु र अनिताको पेपर भिसा जापानबाट काठमाडौंस्थित जापानी दूतावासमा आइपुगेपछि उनीहरूले भिसा सहजै पाए। तर, दुर्गेशको पेपर भिसा भने नआएको बताइएको छ। भिसा प्रक्रिया पूरा गर्न दुर्गेशले काठमाडौंमै पुनः आवेदन दिए पनि जापानी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको स्रोतको दाबी छ।
हालसम्म दुर्गेशलाई भिसा नदिइएको स्पष्ट कारण खुलाइएको छैन। जापान मात्र होइन, विभिन्न देशमा सांगीतिक कार्यक्रम गरेर आइसकेका दुर्गेशलाई भिसा नदिइनु चर्चा र जिज्ञासाको विषय बनेको छ।
विष्णु खत्री र अनिता चलाउने भने भिसा पाएर हिजो नै जापान उडिसकेका छन्। दुर्गेशले भने आफूले भिसा नपाएको नभई पासपोर्ट आफैं फिर्ता लिएको दाबी गरेका छन्। भिसा प्रक्रिया ढिला भएको र अर्को कार्यक्रमका लागि कुवेत जानुपर्ने भएकाले पासपोर्ट फिर्ता लिएको उनको भनाई छ।