भारतीय अदालतको आदेशमा प्रकृति लम्सालको मृत्यु प्रकरणका अभियुक्त धरौटीमा रिहा

काठमाडौँ— भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन्।

उनीमाथि नेपाली छात्रा लम्साललाई मर्न बाध्य बनाएको आरोप लागेको थियो। तर उडिसास्थित उच्च अदालतले गत मे १६ मा १ लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अद्विक श्रीवास्तव धरौटी बुझाएर हालसालै रिहा भइसकेका छन्।

गत फागुन ४ गते केआईआईटी कलेजमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टलको कोठामै मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि भारतीय प्रहरीले घटनामा संलग्न रहेको भन्दै श्रीवास्तवलाई पक्राउ गरेको थियो। तर, अदालतको आदेशपछि उनी अहिले रिहा भएका छन्।

प्रकृतिका बुवा सुनील लम्सालले अभियुक्त धरौटीमा रिहा भइसकेको जानकारी आफूलाई हालै मात्र प्राप्त भएको बताएका छन्। ‘अदालतले मे १६ मै रिहा गर्ने आदेश दिएको रहेछ, तर मैले दुई÷चार दिनअघि मात्र थाहा पाएँ।’

उनले न्यायको माग गर्दै २८ जेठमा नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर ज्ञापनपत्र बुझाइसकेको जानकारी दिएका छन्। ‘अहिलेसम्म सरकारबाट कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने।

अभियुक्त रिहा भएपछि आफूले छोरीका लागि न्याय पाउने कि नपाउने भन्ने चिन्ता बढेको उनको भनाइ छ। यद्यपी घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ। प्रकृतिको मृत्युलाई लिएर नेपाली समुदाय र पीडित परिवारले दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट