प्रकृति लम्सालको मृत्यु प्रकरण नसेलाउँदै उडिसाको कलिंगा इन्स्टिच्यूटमा अर्की नेपाली छात्रा मृत फेला

काठमाडौँ– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत पर्साको वीरगञ्जकी छात्रा मृत फेला परेकी छिन्।
बिहीबार बेलुका करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा प्रिशा साहको मृत शरीर फेला परेको हो। नयाँ दिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ।
दुताबासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले नियमित जाँचका क्रममा ढोका नखुलेपछि बलपूर्वक भित्र पसेर हेर्दा वीरगञ्ज घर भएकी प्रिशा मृत फेला परेको पुष्टि गरे। उनका अनुसार प्रिशा मृत्यु प्रकरणको अनुसन्धान सुरु भएको छ।
प्रिशा केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन्। तर, घटनाको क्रममा कोठामा कोही थिएनन्। समर भ्याकेसन भएकाले धेरैजसो विद्यार्थी घर गएका छन्। फस्र्ट इयरका विद्यार्थीको भने परीक्षा चलिरहेको छ। मृतक पनि बिटेक फस्र्ट इयरकै विद्यार्थी हुन्।
यसअघि गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्। उनीमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएको खुलेको थियो।