रंगीन सपना बोकेर विदेशिएका विशेश्वर परदेशमै बन्दी, सीता एक्लै तान्दैछिन् संघर्षको रथ

राजविराज– सपना थियो— छोरीको बिहे धूमधामले गर्ने, छोराहरूलाई राम्रो शिक्षा दिने, अनि परिवारलाई सुख दिने। तर, जिन्दगीले सपनाको त्यो रङ देखाउन त सकेन, बरु बाँच्नै कठिन ‘ऋणको पहाड’ बोकाई दियो। सिरहाको विष्णुपुर गाउँपालिका–३ कौवाहाकी ४१ वर्षीया सीता अहिले जिन्दगीको यस्तो मोडमा उभिएकी छिन्, जहाँ न त सास फेर्न सजिलो छ, न आँसु रोक्न।
घरमा दुई छोराको पढाइ खर्च, छोरी प्रतिभाको विवाह (चार वर्षअघि) र सासुआमाको किरियामा लागेको १५ लाख रुपैयाँभन्दा बढि ऋणको भारी अनि त्यसमाथि साउदी अरबमा अलपत्र श्रीमान्। सीताको संसार अहिले यिनै बोझले थिचिएको छ।
१० वर्षअघि कमाउने सपना बोकेर साउदी अरब गएका सिताका श्रीमान विशेश्वर यादव, आज परदेशकै बन्दी बनेका छन्। सुरुमा पैसा पठाउँथे, घर बनाए, खेत जोडे। तर, नियति उल्टियो। पछिल्लो समय कम्पनीले तलब दिन छाड्यो, भिसाको म्याद सकियो, र उनी पराइको सहारामा बस्न बाध्य भए। आज उनको अवस्था यस्तो आयो– न घर फर्कन सक्छन, न त आफनो कमाईले पेट पालेर बस्न सक्छन्।
विशेश्वरले साउदीको रियादस्थित एसएमजी कम्पनीमा सुरुमा राम्रै काम गरे। जाने–आउने चलिरहन्थ्यो। तर यो पटक समयले साथ दिएन। तलब आउने त परै जाओस्, खानलाई पनि गाह्रो भयो। अहिले उनी भाइ रामचन्द्र यादवको डेरामा सहारा मागेर बसिरहेका छन्। घरमा छोरा प्रमित र प्रविण बाबु फर्कने आसामा छन्,सीता देवी रातभर प्रार्थना गर्दै बस्छिन्।
सुरुमा कम्पनीले राम्रै तलब दिने गरेपनि पछिल्लो समय पैसा दिन छाड्यो। मजदूर कोर्टमा मुद्दा हाल्दा झन् तलब नै बन्द गरिदियो। नेपाली दूतावासमा गुहार माग्दा पनि सुनुवाइ भएन। अब विशेश्वरसँग न भिसा छ, न बाटो, न आशा।
यता, विशेश्वरकी आमा भाल्सरदेवीको एउटा मात्रै धोको थियो— छोरा फर्किएको मुख हेर्ने। त्यो धोको अधुरै रह्यो। तर, छोरो खोज्दै उनले सन्सार छाडिन। तीन वर्षअघि (प्रतिभाको विवाह भएको एक वर्षपछि) उनको निधन भयो। उसो त सीताले श्रीमान् फर्काउन पहल नगरेकी पनि होईनन्। गाउँका नेताहरूसँग कति पटक गुहार मागिन्। सुरुमा आश्वासन दिए पछि नेताहरूको जवाफ थियो— ‘अव हामीबाट केही हुँदैन।’
वडासदस्य निर्मला यादव भन्छिन्, ‘हामीले स्थानीय स्तरबाट सक्दो पहल ग¥यौं। तर फर्काउन सकिएन। अब सबै मिलेर सीताको उद्धार गर्नु जरुरी छ।’ सीतासँग अव प्रश्नमाथि प्रश्न मात्रै बाँकी छन् ‘श्रीमानलाई कसरी फर्काउने? कसरी ऋण तिर्ने? छोराहरूलाई कसरी पढाउने?’
यही चिन्ताले उनलाई रातभर निद्रा लाग्न छोडेको छ। कहिलेकाँही त सोच्दासोच्दै छर्लङ्ग उज्यालो हुन्छ। तर, उनीसँग कुनै पनि प्रश्नको उत्तर छैन।
यो एउटा परिवारको कथा होइन, यो हजारौं परदेशी र तिनको आशामा बाँचेका नेपालीहरूको कथा हो। अहिले पनि विशेश्वर जस्ता कयौं युवा विदेशमा अलपत्र छन्। पैसा कमाउँला र फर्केर सहज रुपमा जिन्दगी विताउँला भनेर बसेका ती युवाको सपना विदेशमै तुहिँदैछन्। यता, तीनको आशामा वसेका परिवार ऋणको भारीले थिचेर दिनदिनै मर्न बाध्य छन्।