२४५१ किलो गाँजा प्रकरणः मुख्य तस्कर ‘फरार’, प्याड प्रकरण गायब — के प्रहरी आफैँ मिलेको हो ?

राजविराज– सप्तरीको सदरमुकाम राजविराज–९ स्थित एक गोदाममा साढे तीन महिनाअघि २४५१.५ किलोग्राम गाँजा बरामद भएको घटनामा प्रहरीको भूमिका गम्भीर प्रश्नको घेरामा परेको छ। अभियुक्तहरूलाई ‘फरार’ देखाएर संरक्षकझैँ प्रस्तुत भएको प्रहरीको कार्यशैलीले कानुनी प्रक्रिया र निष्पक्षता दुवैमा शंका उत्पन्न गरेको छ।

गाँजासँगै बरामद भएका प्रमाणहरू जिल्ला प्रहरी कार्यालय हाताभित्र भण्डार गरेर राख्नु तर बरामदी मुचुल्कामा नदेखाउनु, गाँजा तस्करीमा प्रतिवादी बनाईएका मुख्य प्रात्रहरुलाई सुरुवातमै पक्राउ नगरी भाग्ने मौका दिनु र रोजिरोटीका लागि गोदाम रुँघेर वसेका निरिह चौकीदार तथा ट्रकका चाकलकलाई पक्राउ गरी काम देखाउन खोज्नुले प्रहरीको भुमिकामा प्रश्न उठेको छ।

सप्तरीका सीडीओ भोला दाहालको नेतृत्वमा १९ फागुन ०८१ मा प्रहरीले राजविराज–९ स्थित गोदाममा छापामारी गरेर भारतीय नम्बर प्लेट भएका स्कारपिओ र कार, ८० बोरा (कुल २४५१.५ किलोग्राम) गाँजा, डिजिटल तराजु, लत्ता कपडा राखिएका बोरा, हार्डवेयर सामग्री, सुर्तीजन्य वस्तुहरू, चिनी, ‘गायत्रीकुमारी यादव, राजकुमारी यादव, राजेशकुमार यादव, जिवछ यादव, जगदेव यादव, हिमांश यादव र प्रियांशु यादव’ को नाममा भएका विभिन्न कागजात ‘हिमांशु स्टोर’को विल, स्याउ लोड भइरहेका दुई वटा ट्रक र सयौं बोरा सेनिटरी प्याड बरामद गरिएको थियो।

त्यसै बेला प्रहरीले गोदमका चौकीदार भारतको विहारस्थित मधुबनी, कुकुरदौरा–१०, छातापुर धाता टोलका ६६ वर्षीय रामनारायण यादवलाई पनि पक्राउ गरेको थियो।

‘गाँजा गोदाम’ को समाचार लेख्ने पत्रकारमाथि कारबाही प्रयास
गाँजा बरामद हुँदै गर्दा शीर्षखबर डटकमले ‘पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता साहको गोदाममा सीडीओको छापा, ३२ क्विण्टल गाँजा बरामद’ भन्दै समाचार प्रकाशित गरेको थियो। केही समय अघि ललिताका श्रीमान राजनारायण साहले उक्त गोदाममा ‘फलामे काँटी उद्योग’ सञ्चालन गरेका थिए। र उद्योग उद्घाटनमा कतिपय पत्रकारहरु नै अतिथिको रुपमा आमन्त्रित थिए। त्यसै वेला जग्गा र उद्योगका लागि निर्माण भएको भवनको स्वामित्वका विषयमा प्रष्ट भएको थियो। गाँजा बरामद भएको गोदाम सोही उद्योगको भवन हो।

सोही आधारमा प्रकाशित समाचारका विषयमा घट्नास्थलमै आपत्ति जनाईयो। लगत्तै राजविराज नगरपालिका, मालपोत कार्यालय लगायतमा रहेका जग्गा र भवन निर्माण एवम् नक्सा पाससँग सम्वन्धित कागजातसहित शीर्ष खबरले ‘… गाँजा बरामद भएको गोदाम कस्को ?, यस्तो छ प्रमाण’ शीर्षकमा अर्को समाचार प्रकाशित गर्यो।

तर, ललिताले आफनो नाममा ‘श्रीसम्पत्ति केही नभएको र भ्रामक समाचार लेखेको’ भन्दै खण्डन गरिन। यतिमात्रै होईन, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालमा शीर्ष खबर डटकम विरुद्ध उजुरी दिईन। केन्द्रीय महासंघले ललिताद्वारा दर्ता गराइएको उजुरीको सन्दर्भ दिँदै शीर्ष खबरमाथि कारबाहीको मागसहित प्रेस काउन्सिल नेपालमा पत्राचार गर्यो।

पत्रकार महासंघको पत्रसहित प्रेस काउन्सिलले शीर्षखबरलाई समाचार खण्डनसहित तीन दिने स्पष्टिकरण सोध्यो। काउन्सिलको स्पष्टिकरणपछि तथ्य र प्रमाण हुँदाहुँदै शीर्षखबर डटकमले बाध्य भएर समाचार खण्डन गर्यो र स्पष्टिकरण पनि बुझायो।

प्रमाण संकलनका नाममा हप्तौं विताएर प्रहरीले तस्कर भगायो
यता, शीर्ष खबरले गाँजा बरामद भएकै दिन र भोलिपल्टसम्ममा गाँजा तस्करीमा प्रयोग भएको गोदाम र गोदाम भएको जग्गाको स्वामित्वका विषयमा प्रमाण (कागजात)सहित समाचार प्रकाशित गरिसकेको थियो। तर, प्रहरीले त्यही कागजात खोज्न झण्डै एक साता लगायो। २३ फागुनमा जिल्ला प्रहरी कार्यालय सप्तरीले उक्त गोदाम महादेवा गाउँपालिका–४ का ४९ वर्षीय राजनारायण साहको भएको पुष्टि गर्यो। त्यसपछि मात्रै एसपी ढकेन्द्र खतिवडाले पनि ‘गाँजा गोदाम त ललिताका श्रीमानकै र’छ’ भन्दै मुख खोले।

त्यति वेलासम्म अभियुक्तहरु फरार भईसकेका थिए। अहिले पनि उनीहरु प्रहरी नियन्त्रण वाहिरै छन्। यो घट्ना प्रकरणले प्रहरीले जानजान गाँजा तस्करीमा संलग्नहरुलाई भगाउन मद्दत गरेको पुष्टि हुन्छ।

सेनिटरी प्याडमा सुरु देखि नै प्रहरीको चलखेल
सप्तरी प्रहरीले गाँजा प्रकरणलाई सुरु देखि नै चलखेलको माद्यम बनायो। यो कुरा, जिल्ला प्रहरी कार्यालय हाताभित्र कुन्यूँ लगाएर राखिएको सेनिटरी प्याड, प्रहरीको बरामदी मुचुल्का र प्रहरीकै अनुशन्धान प्रतिवेदनका आधारमा सप्तरी जिल्ला अदालतमा दायर भएको अभियोग पत्रले पुष्टि गर्छ।

बरामदी मुचुल्का र प्रहरीले ९० दिन लगाएर गरेको अनुशन्धान प्रतिवेदनका आधारमा दायर भएको अभियोग पत्रमा सयौं बोरा सेनिटरी प्याडको कतै पनि जिकिर गरिएको छैन। जवकी उक्त सेनिटरी प्याड अहिले पनि जिल्ला प्रहरी कार्यालयको कम्पाण्डमै छ। प्याड कार्यालय हाताभित्रै रहेको सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार वस्नेत बताउँछन।

तर, अभियोग पत्रमा भने गोदाममा छापा मारेर भारतीय नम्बर प्लेटका दुई वटा सवारी साधन, २४५१.५ किलोग्राम गाँजा, डिजिटल तराजु, हार्डवेयर सामग्री, सुर्तीजन्य वस्तु, चिनी, विभिन्न कागजात र विल, स्याउ लोड भइरहेका दुई वटा ट्रक बरामद गरिएको उल्लेख छ। जवकी अभियोग पत्रमा लत्ता कपडा राखिएका बोरा र स्कुले बालबालिकाको परिचय पत्रसमेतको जिकिर गरिएको छ। तर, सेनिटरी प्याडको प्रसंगमा एक शब्द पनि कतै उल्लेख गरिएको छैन।

उक्त सेनिटरी प्याड ललिता साहकै नाममा भएको ‘लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स’ ले आयात गरेर गोदाममा भण्डारण गरेर राखेको स्रोतको दाबी छ। स्थानीय तहले विद्यालयका बालबालिकालाई निशुल्क सेनिटरी प्याड वितरण गर्ने अभियान चलाएपछि ललिताले लक्ष्मी ट्रेडर्स मार्फत त्यसको ठेक्का लिने गरेकी थिईन। ‘सोही ठेक्काको आपूर्तिका लागि आयात गरिएको मध्ये केही प्याड उनले रुपनी गाउँपालिकासहित विभिन्न स्थानीय तहमा उपलब्ध गराई बाँकी रहेको गोदाममा राखेकी थिईन।’– स्रोत भन्छ।

त्यसैले यो प्याडको प्रसंग हाल सर्वोच्च अदालतमा विचाराधिन रहेको रुपनी गाउँपालिकाको सेनिटरी प्याड खरिद र वितरण सम्वन्धि भ्रष्टाचार प्रकरणसँग गाँसिन्छ। रुपनी गाउँपालिकामा विद्यालयका बालिकाका लागि सेनिटरी प्याड आपूर्तिमा गरिएको भ्रष्टाचार पुष्टि भएपछि ललिता मुद्दा खेपिरहेकी छिन्।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले उनीसहित करिव आधा दर्जन ब्यक्तिलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि ललिताले ‘मैले गलत गरेको छैन, तर आत्मसन्तुष्टिका लागि’ भन्दै भ्रष्टाचार भएको भनिएको २३ लाख २२ हजार रुपैयाँ फिर्ता गरेकी थिइन्। यही आधारमा विशेष अदालतले उनलाई सफाई दियो। तर, सफाइ दिने फैसलाविरुद्ध आयोगले सर्वोच्च अदालतमा पुनरावेदन समेत गरिसकेको छ।

यी प्रकरणले ‘सेनिटरी प्याड पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहकै हो’ भन्ने पुष्टि गर्छ। त्यसैले प्रहरीको अनुशन्धान सुरुदेखि नै ‘पत्रकार महासंघ’ नामको शक्तिबाट प्रभावित भयो। पत्रकारकारलाई जोगाउने नाममा प्रहरीले प्रमाण लुकाएर आफनै प्रतिवेदनमा समेत सेन्सर गरेको पाईएको छ। फलस्वरुप सेनिटरी प्याडको प्रसंग नै उल्लेख नगरी मुद्दा अदालतमा पुर्‍याएको छ। प्रहरीको यो कदम अदालतलाई अँध्यारोमा राख्ने प्रयत्न भएको जानकारहरु वताउँछन्।

यो प्रसंगमा प्रहरीको आफ्नै तर्क छ। सेनिटरी प्याड नेपालमै बनेकोले भन्सार पठाउनु नपर्ने तथा लागू औषध पनि नभएकाले बरामदी मुचुल्कामा पनि उल्लेख गर्नु नपरेकाले अभियोग पत्रमा पनि उल्लेख नभएको प्रहरीको जिकिर छ। एसपी ढकेन्द्र खतिवडा, डीएसपी वस्नेत र मुद्दा फाँटका इन्स्पेक्टरसमेतले यही तर्क गरेका छन्।

गोदाममा बरामद भएको हार्डवेयरका सामान, कपडा राख्ने बोरा र विद्यालय जाने बालबालिकाको आईडी कार्डसम्म उल्लेख गरेर अभियोग पत्र तयार हुँदा सेनिटरी प्याड कसरी छुट्यो ? आईडी कार्ड र कपडा राख्ने बोरा चाहीँ भन्सार छलेर आयात गरिएको रहेछ ? की लागू औषध रहेछ ? भन्ने प्रश्नमा भने उनीहरुको जवाफ छैन।

को– को छन् मुख्य अभियुक्त, को को छन् फरार?
अदालतमा दायर अभियोगपत्रमा ललिताका श्रीमान राजनारायण साह र आमा पवित्रीदेवी साहुसहित रामनारायण यादव, देवनारायण पासमान, राजेशकुमार यादव र राजकुमारी देवीले आपसी मिलेमतोमा गाँजा तस्करी गरेको उल्लेख छ। गाँजा तस्करीमा प्रियान्सु जेनरल स्टोर तथा राजनारायण साह र पवित्रीदेवी साहुको घर तथा जग्गाको दुरुपयोग गरिएको छ।

अभियोग पत्रमा भनिएको छ– ‘…उनीहरूले ठूलो मात्रामा गाँजा खरिद गरी विभिन्न तौल अनुसारको बोरामा प्याक गरेर नेपाली तथा भारतीय नम्बर प्लेट भएका गाडीमार्फत नेपाल र भारतका विभिन्न स्थानमा बिक्री वितरण गर्ने उद्देश्यले निकासी, पैठारी, सञ्चय गरी गाँजाको खरिद–बिक्री, ओसारपसार, निकासी, पैठारी तथा सञ्चय गरेको पाइयो।’

अहिले राजनारायण र पवित्रिदेवीसहित छिन्नमस्ता गाउँपालिका–४ का ३४ वर्षीय राजेशकुमार यादव (रोशन), डाकनेश्वरी नगरपालिका–८ की ५४ वर्षीया राजकुमारी देवी (प्रियान्सु जेनरल स्टोरकी प्रोप्राइटर), सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का ४२ वर्षीय निरेन्द्रकुमार साहु (ट्रक धनी) र अर्नाहा गाविस–८ का ४३ वर्षीय इजहारुल हक (ट्रक धनी) लाई आश्चर्यजनक रूपले फरार देखाइएको छ। चौकीदार रामनारायण र को१ख ५२१५ नम्बरको ट्रकका चालक सप्तरीको खडक नगरपालिका–१०, डेंग्राहीका २६ वर्षीय देवनारायण पासमान मात्र पक्राउ परेका छन्। प्रहरीले दुवैलाई अभियोग पत्रसँगै अदालतमा उपस्थित गराएको छ।

प्रहरीको निस्पक्षता खै ?
यसरी, गाँजा तस्करी जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरू संरक्षित हुनु र उनीहरुलाई संरक्षण गर्न बरामद प्रमाण नै लुकाउन खोज्नुले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय नागरिकहरू भन्छन् – ‘मालिक फरार हुने, मजदूर पक्राउ पर्ने ! बरामद समान लुकाउने, अदालतलाई अँध्यारोमा राख्ने ! अब अनुसन्धानको निष्पक्षता कहाँ रह्यो ?’

प्रहरी आफैँ प्रमाण लुकाउने र ठूला अभियुक्त भगाउने काममा संलग्न भएपछि यो केवल तस्करी र भ्रष्टाचारको मुद्दा मात्र नभई राज्य संयन्त्रकै विश्वसनीयतामाथिको गम्भीर प्रश्न भएको उनीहरु बताउँछन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट