सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा दुवै सवारीका तीन जनाको मृत्यु

लहान — हुलाकी राजमार्गअन्तर्गत सिराहा–सन्हैठा सडक खण्डमा शुक्रबार साँझ मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।
साँझ सवा ५ बजे सिरहा नगरपालिका–१८, लक्षमिनिया नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००३–प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको साइकल ठोक्किँदा घटनास्थलमा भीषण दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सिरहा, कल्याणपुर नगरपालिका–१२, बेल्हाका २९ वर्षीय नरेश मुखिया, मोटरसाइकलमा पछाडि सवार कल्याणपुर नगरपालिका–२, चतरीका २८ वर्षीय प्रदीप मुखिया र साइकल यात्री सिरहा नगरपालिका–२ का ६५ वर्षीय कुसे रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सिरहा प्रहरीका डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनामा तीनै जना गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा चिकित्सकहरूले तीनैजनालाई मृत घोषणा गरेका थिए।
मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हुलाकी राजमार्गमा स्पिड ब्रेकर, सवारी सचेतना र ट्राफिक व्यवस्थापनको कमीले यस्ता दुर्घटनाहरू दोहोरिँदै आएका छन्। स्थानीयवासीहरूले दुर्घटनास्थलमा नियमित सवारी अनुगमन र स्पिड नियन्त्रणका लागि माग गरेका छन्।