धराने मेयर साम्पाङको श्रमदान कार्यक्रममा १२ वर्षीया बालिकामाथि यौन दुर्ब्यवहार, भान्से पक्राउ

इटहरी — धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले वडा नम्बर १६ मा सञ्चालन गरेको श्रमदान कार्यक्रममा सहभागी भएकी १२ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार भएको खुलासा भएको छ।
बालिकामाथि दुर्व्यवहार भएको विषय करिव २ महिनापछि सार्वजनिक भएपछि धरान–१७ पृथ्वीचोकका ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन्। उनी मेयर हर्क साम्पाङ नेतृत्वको श्रमदान कार्यक्रममा खाना पकाउने जिम्मेवारीमा थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटना दुई महिना अगाडि (जेठमा) भएको हो। पीडित बालिका आमासँगै श्रमदानमा गएकी थिइन्। राईले बालिकालाई फकाएर खोल्सातिर लगेर यौन दुव्र्यवहार गरेका थिए। त्यो घट्ना आमाले देखेपछि प्रतिकार गरिन।
उनले त्यस बेला खगेन्द्रलाई कुटपिट गरेकी थिइन्। तर, घटनालगत्तै प्रहरीलाई खबर नगरी गाउँमै मिलाउन दबाब आएको पीडित पक्षको भनाइ छ। लामो समयपछि पीडित परिवारले कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध समेत किटानी जाहेरी दिएका छन्। उनीहरूले ‘छोरीको बिहे हुन गाह्रो हुन्छ’, ‘श्रमदानको बदनाम हुन्छ’ भन्दै प्रहरी नजान दबाब दिएको आरोप लागेको छ।
घटना सार्वजनिक हुनासाथ मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। तर, पीडित पक्षले मेयर आफैंले पहिला घटनाबारे आफूसँग छलफल गर्न दबाब दिएको दाबी गरेको छ। वडाध्यक्ष मुरारी भट्टराईका अनुसार साम्पाङको चेतावनीका कारण पीडित परिवार प्रहरीकहाँ ढिला पुगेको हो।
धरानको श्रमदान कार्यक्रममा पहिलेदेखि राजनीतिक असहमति रहँदै आएको थियो। प्रदेश सरकारको लगानीमा निर्माणाधीन प्रहरी चौकी भवनमा श्रमदानकर्ताले रोक लगाएको विषय र बजेट निकासाका विषयमा मेयर र उपमेयरबीच विवाद चर्किएको थियो। यही विवादका बीच घटना सार्वजनिक भएपछि श्रमदान कार्यक्रमलाई बदनाम गर्न नियोजित प्रयास भएको साम्पाङको आरोप छ।
प्रहरीले खगेन्द्र राईलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। दुई जना अन्यमाथि पनि अनुसन्धान भइरहेको छ। घटनाले धरानको स्थानीय राजनीति र श्रमदानको विश्वसनीयता दुवैलाई प्रभावित पारेको छ।