मेयरको सेटिङमा उत्खननको विरोध गर्दा वडाध्यक्षको सेवा सुविधा काटियो, अदालतले भन्यो– रोक्न मिल्दैन

बेलटार (उदयपुर) — उदयपुरको चौदण्डीगढी नगरपालिका–७ का वडाध्यक्ष केशव अधिकारीको सेवा सुविधा रोक्का गर्ने माथि चौदण्डीगढी नगर कार्यपालिकाको निर्णयमा उच्च अदालत विराटनगरले अन्तरिम आदेशमार्फत रोक लगाएको छ।
वडाभित्र भइरहेको अवैध ढुंगा, गिट्टी, बालुवा तथा माटो उत्खननविरुद्ध आवाज उठाएका अधिकारीलाई कार्यपालिकाले आफनो जिम्मेवारी बहन नगरेको आरोप लगाउँदै सेवा सुविधा रोकेको थियो।
मेयर कालुमान लामामाथि आफन्त र सेटिङमार्फत खोलाबाट अवैध उत्खनन गरी राजस्व छली गरिएको आरोप लगाउँदै वडाध्यक्ष अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। त्यसअघि उनले जिल्ला प्रशासन कार्यालयमा उत्खनन रोक्नका लागि पनि ज्ञापनपत्र बुझाएका थिए।
उक्त गतिविधिपछि २१ वैशाखमा बसेको नगर कार्यपालिकाको १२औं बैठकले अधिकारीको सेवा सुविधा रोक्का गर्ने निर्णय गरेको थियो। बैठकले ‘पदीय जिम्मेवारी बहन नगरेको, बैठकहरूमा अनुपस्थित भएको, कार्यवाहकको जिम्मेवारी मनोमानी तरिकाले दिएको’ लगायतका आरोप लगाउँदै सेवा सुविधा रोक्ने निर्णय गरेको थियो।
तर, वडाध्यक्ष अधिकारीले उक्त निर्णयलाई चुनौती दिँदै उच्च अदालत विराटनगरमा रिट दायर गरेपछि अदालतले २०७५ को ‘कोशी प्रदेश गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा सम्बन्धी ऐन’ को दफा ११ मा आधारित रहेर अन्तरिम आदेश दिएको हो।
न्यायाधीशहरु ध्रुवराज नन्द र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासको आदेशमा भनिएको छ— ‘रिट निवेदक निलम्बन वा कैदमा नरहेको अवस्थामा सेवा सुविधा रोक्का गर्न सकिँदैन। त्यसैले नगर कार्यपालिकाको २०८२ साल वैशाख २१ को बैठकबाट गरिएको ‘सेवा सुविधा अर्को व्यवस्था नभएसम्मका लागि रोक्का गर्ने’ निर्णय कार्यान्वयन नगर्न÷नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ।’
अधिकारीले आफुले वैशाखदेखि सेवा सुविधा नपाएको बताएका थिए। ‘सेवा सुविधा रोकियो, पछि कारण खोज्दा यस्तो निर्णय गरिएको रहेछ।’ उनले भने।
नगरभित्रको लामाखोला र माडीबास खोलामा मेयर लामाकै सेटिङमा भइरहेको अवैध उत्खननविरुद्ध अधिकारीको संघर्षमा स्थानीयवासीको साथ रहेको छ। यद्यपि, सत्तारूढ नेकपा एमालेबाट निर्वाचित भएका अधिकारी अहिले आफ्नै पार्टी नेतृत्वसँग जुधिरहेका छन्। मेयर कालुमान लामा पनि एमालेकै तर्फबाट निर्वाचित हुन्।
अधिकारीले भने आफू वडाका सबै काममा सक्रिय रहेको भन्दै, ‘म आफ्नो कर्तव्यबाट पछि हट्दिन,’ भन्दै संघर्ष जारी राख्ने जनाएका छन्।
यो पनि,
- चौदण्डीगढीमा अवैध उत्खननको पर्दाफासपछि धम्की र प्रतिशोधः पत्रकारलाई झुण्ड्याउने चेतावनी, वडाध्यक्षको सेवा–सुविधा रोक्का
- उदयपुरमा मेयरको ढुङ्गा गिटी तस्करी विरुद्ध बोल्ने वडाध्यक्षको सेवा सुविधा रोकियो, अदालत जाने तयारी
- चौदण्डीका मेयरको सेटिङमा चुरे दोहनः अख्तियारको छानविन, ठेकेदार कम्पनी नविकरण नै नभएको खुलासा
- चौदण्डीगढीका मेयर कालु लामाले भतिजालाई ठेकेदार बनाएर यसरी गरे खोलामा अवैद्य उत्खनन
- नगरअस्पतालमा विरामीको मृत्यु भएपछि चौदण्डीगढीका मेयर कालुमान लामामाथि हातपात