मितेरी सहकारी ठगीकाण्डमा ज्योति भण्डारीसँग जोडिएका दुई सहयोगी पक्राउ, एकले प्रहरी देख्नासाथ आईफोन फुटाए

राजधानी — ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको ३ करोड ४४ लाख रुपैयाँ ठगी प्रकरणमा संलग्न भनिएका ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका दुई व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।

इन्टरपोलको सहयोगमा असार ४ गते कम्बोडियाबाट पक्राउ परेका मुख्य आरोपी भण्डारीसँग लामो समयदेखि सम्पर्क र कारोबारमा रहेका बर्दिया घर भएका सुरेश अधिकारी र धादिङ घर भएका सुवास खत्रीमाथि प्रहरीले संगठित अपराध अन्तर्गत अनुसन्धान अघि बढाएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खत्रीलाई पक्राउ गर्न अनामनगर पुगेको थियो। पक्राउको जानकारी दिने क्रममा उनले आफ्नो आइफोन–१६ मोबाइल फुटपाथमा पटक–पटक हानेर फुटाएका थिए। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मोबाइलमा महत्वपूर्ण प्रमाणहरू रहेका हुनसक्ने आशंकामा खत्रीले जानाजान मोबाइल नष्ट गरेका हुन्।

फुटेको मोबाइललाई मर्मतपछि डिजिटल फोरेन्सिक ल्याबमा डाटा रिकभरीको प्रयास गरिए पनि सफल हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धान अनुसार खत्रीले विदेशमा रहेका भण्डारीलाई ठगीको रकम हुन्डीमार्फत पठाउने काम गर्थे। भण्डारी र खत्रीबीचको संवाद तथा आर्थिक कारोबार लामो समयदेखि चलिरहेको देखिएको छ।

यसैगरीसुरेश अधिकारी भण्डारीका पारिवारिक सदस्य रहेको खुलेको छ। उनीहरूविरुद्ध सीआईबीले संगठित आपराधिक समूह गठन गरी ठगी गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रहरी अनुसन्धानबाट सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले थाइल्याण्डमा रहेका भण्डारीलाई सहकारी पदाधिकारीहरूसँग सम्पर्क गराइदिएको खुलेको छ। त्यसपछि भण्डारीले ३३ करोड ११ लाख रुपैयाँ पार्सल पठाएको भन्दै सहकारीका सचिव कृष्ण रानाले सञ्चालन गरेको ग्लोबल आइएमई बैंकको खातामा टोकन देखाउँदै ह्वाट्सएपमार्फत झूटो सूचना दिएका थिए। सोही बहानामा ‘कमिसन’ भन्दै ३ करोड ४४ लाख रुपैयाँ ठगी गरिएको थियो।

सोही प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पनि प्रहरीले बयान लिएको छ। गुरुङकी पूर्वपत्नी तथा मितेरी सहकारीकी महाप्रबन्धक ज्योति गुरुङ फरार छिन्। भण्डारीमाथि नागरिकता र राहदानीसम्बन्धी किर्ते गरेको अभियोगमा समेत अनुसन्धान भइरहेको छ। उनले लिएको दुईवटा राहदानीमा फरक नागरिकता नम्बर र जन्मस्थान उल्लेख गरिएको फेला परेको छ।

पहिलो राहदानी (नं. १०५४८६८८) मा नागरिकता नम्बर १५८८३ र जन्मस्थान कास्की उल्लेख छ भने दोस्रो राहदानी (नं. ११३६४६९१) मा नागरिकता नम्बर १४८०३ र जन्मस्थान बर्दिया देखिन्छ।

भण्डारीले विभिन्न व्यक्तिका विवरण परिवर्तन गरेर काल्पनिक नाममा राहदानी र नागरिकता बनाएको र ती कागजात प्रयोग गरेर सामाजिक सञ्जालमार्फत ठगी गरेको प्रारम्भिक अनुसन्धान निष्कर्षमा उल्लेख छ। उनले फरक नामबाट फेसबुक र ह्वाट्सएपमार्फत ठगी कारोबार चलाउने गरेको पुष्टि प्रहरीले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट