नयाँ बानेश्वरमा जेनजी आन्दोलनः संसद भवनभित्र प्रवेशदेखि कर्फ्यु आदेशसम्म

काठमाडौंँ– सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजी आन्दोलन सोमबार राजधानी काठमाडौँसहित विभिन्न शहरमा फैलियो। माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन चर्किँदै जाँदा संसद भवन घेराबन्दीमा पर्‍यो र स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले अश्रुग्यास, लाठीचार्ज, रबरको गोलीदेखि हवाई फायरसम्म प्रयोग गर्नुपर्‍यो।

माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर पुग्दा ठूलो भिडमा परिणत भयो। संसद भवन अगाडि पुगेपछि प्रदर्शनकारीले ढुंगामुढा गर्दै २ नम्बर गेटतर्फको पर्खाल भत्काए। कतिपय गेट नाघेर संसद भवनभित्र प्रवेश गरे। त्यही क्रममा प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास र हवाइफायर गर्‍यो।

प्रदर्शनकारीले संसद भवनको गेटमा आगो लगाएका थिए। तर सुरक्षा तयारी कमजोर हुँदा आगो तत्काल निभाउन सकिएन। दमकल भवनसम्म पुग्न नसकेपछि गेटमा लागेको आगो फैलिँदै गयो। संसद परिसरभन्दा टाढा राखिएका वाटर क्यानन पनि तत्काल प्रयोगमा ल्याउन नसकिएको प्रत्यक्षदर्शीले बताएका छन्।

स्थिति नियन्त्रण गर्न नसकेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम नयाँ बानेश्वर वरपर कफ्र्यू आदेश जारी गरे। आदेशअनुसार आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म तोकिएको क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, बैठक तथा कुनै गतिविधि गर्न निषेध गरिएको छ।

सोमबारको प्रदर्शनमा स्कुल ड्रेसमै विद्यार्थीहरूको उपस्थिति उल्लेख्य रह्यो। सरकारी र निजी विद्यालयका सयौं विद्यार्थीहरू भ्रष्टाचारविरोधी नारा लगाउँदै सडकमा उत्रिएका थिए। उनीहरू पनि प्रहरीसँगको झडपमा संलग्न भएको देखियो।

टिकटक, इन्स्टाग्राम, फेसवुकलगायत सामाजिक सञ्जालमा लामो समयदेखि असन्तोष पोखिरहेका युवाहरू सरकारद्वारा सामाजिक सञ्जाल बन्द गरेपछि सडकमा उत्रिएका हुन्। उनीहरूले ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ जस्ता गीत गाएर आन्दोलनलाई उर्जा दिएका थिए।

प्रदर्शनसँगै केही ह्याकर समूह सक्रिय भए। महान्यायाधिवक्ता कार्यालयसहित पद्मकन्या क्याम्पस, होटल एसोसिएसन नेपाल लगायतका वेबसाइट ह्याक गरेर ‘GenZ Rising Nepal’ ह्यासट्यागसहित प्रदर्शनमा सहभागी हुन अपिल गरियो।

स्थिति नियन्त्रणबाहिर पुगेपछि ‘GenZ Nepal’ नामको फेसबुक पेजबाट प्रदर्शन तत्कालै रोक्ने आह्वान गरियो । ‘कृपया सुरक्षित तरिकाले निस्कनुहोस्। आज हाम्रो दिन सफल भइसकेको छ,’ भन्ने सूचनासहित सहभागीलाई घर फर्कन आग्रह गरिएको थियो।

यो आन्दोलनको विशेषता भनेकै नेतृत्वविहीन स्वरूप हो। कुनै पार्टी वा संगठनको झण्डा नभई सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए।

झापाबाट काठमाडौं पुगेकी तनुजा पाण्डेले ‘सरकारको भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द र लोकतन्त्र माथि भइरहेको आक्रमणको विरुद्ध सडकमा आएकी हुँ’ भनिन् भने अर्की सहभागी रक्षा बमले ‘नेता भनेका कर चोर्ने, विलासी जीवन बिताउने मात्र देखिन्छन्। अब युवाले नै नेतृत्व लिनुपर्ने बेला आएको छ’ भन्दै आक्रोश ब्यक्त गरिन।

सामाजिक सञ्जालबाट सुरु भएको जेनजी पुस्ताको आक्रोश सोमबार काठमाडौँमा संसद भवनसम्म पुगेको छ। प्रहरीले कडा बल प्रयोग गरेर आन्दोलन नियन्त्रणमा लिने प्रयास गरिरहेको थियो भने युवाहरू त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको लडाइँका रूपमा प्रस्तुत गरिरहेका थिए।

नेपालमा नेतृत्वविहीन, स्वतःस्फूर्त नागरिक आन्दोलन नयाँ अभ्यासका रूपमा अगाडि बढेको छ। यो आक्रोश सडकमा अझै निरन्तर हुन्छ वा डिजिटल आन्दोलनमै सीमित हुन्छ, त्यसको जवाफ समयले दिनेछ। तर, युवाले सडक र सञ्जाल दुवैलाई आफ्नो आन्दोलनको रंगमञ्च बनाएको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट