‘केपी ओली, प्रचण्ड र शेरबहादुरको अनुहार हेर्न मन छैन’ भनेपछि प्रधानमन्त्री कार्की विवादमा, प्रचण्डको मन चसक्क
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले ‘केपी ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र शेरवहादुर देउवाको अनुहार पनि हेर्न मन छैन’ भनेको विषय अहिले राजनीतिक विवादको विषय बनेको छ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अन्तर्वर्तामा यो विषय उठाउँदै प्रधानमन्त्री कार्कीको आलोचना गरे। फागुन २१ मा चुनाव गराउने म्याण्डेट पाएको सरकारको प्रधानमन्त्रीले राजनीतिक दलका प्रमुखहरुको अनुहार हेर्न नसक्नु गम्भिर चिन्ताको विषय भएको उनको भनाई छ।
यता, नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्ति आफूलाई चित्त नबुझेको बताएका छन्। उनले कार्कीले आफूसहितका केही शीर्ष नेताको अनुहार हेर्न मन नभएको भनेको सुनेर ‘मन चसक्क भएको’ टिप्पणी गरेका हुन्।
पार्टी एकता सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘जेन–जी आन्दोलनको भावना अनुसार प्रधानमन्त्री बनाउन हामीले सुशीला कार्कीलाई प्रस्ताव गरेका थियौँ। त्यसै रात सहमति भयो, र अर्को दिनै निर्वाचनमा जाने घोषणा पनि गर्यौ। चुनावको वातावरण बनाउन हामीले उहाँलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका थियौँ।’
तर पछिल्लो समय कार्कीले ‘केपी ओली, प्रचण्ड र शेरबहादुरको अनुहार हेर्न मन छैन’ भनेर भनेको सुन्दा आफू दुखी भएको उनले बताए। ‘उहाँले भनेको सुन्दा अलिकति मन चसक्क भयो। यस्तो कुरा गर्नु हुँदैन। अहिले देशलाई निर्वाचनको वातावरण चाहिएको छ,’ उनले भने।
दाहालले प्रधानमन्त्री कार्कीको तर्फबाट आएको अभिव्यक्ति जेन–जी आन्दोलनको मूल भावना विपरीत रहेको टिप्पणी गर्दै, सरकार र दलबीचको आपसी सहयोग आवश्यक रहेको बताए।
प्रधानमन्त्री कार्कीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया व्यक्त भइरहेको छ। केहीले यसलाई ‘भावनात्मक प्रतिक्रिया’ भनेका छन् भने केहीले ‘राजनीतिक असहिष्णुता’को उदाहरणका रूपमा व्याख्या गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, कार्कीको भनाइले राजनीतिक दल र सरकारबीचको सम्बन्धमा चिसोपन ल्याउने सम्भावना देखिएको छ। अब कार्कीले यो विवादमा कसरी जवाफ दिने भन्नेमा सबैतिर चासो बढेको छ।
लोकप्रिय
ताजा अपडेट
गृहमन्त्रीमाथि सुधन गुरुङको प्रहारः ‘निकोलस पक्राउ, महेश वस्नेत किन स्वतन्त्र ? ओलीकै पारामा ढल्केको हो ?

