मधेशका मुख्यमन्त्रीको गाडी दुर्घटनाः बागे पुलनजिक यात्रुबाहक बससँग ठोक्कियो
काठमाडौं — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव चढ्ने सरकारी गाडी बर्दिबासमा दुर्घटनामा परेको छ। गाडीमा मुख्यमन्त्री स्वयं सवार थिए कि थिएनन् भन्ने खुलिसकेको छैन।
मंगलबार राति करिब साढे ९ बजे बर्दिबास नगरपालिका–१ माइस्थानस्थित बागे पुलनजिक मधेश प्रदेश सरकारको नाममा दर्ता ०२००१ झ ०२६८ नम्बरको सेतो स्कारपियोले बागमती ०३००१ ख ३६६३ नम्बरको शिव शक्ति यात्रुबाहक बसलाई ठक्कर दिएको हो।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका डिएसपी टिका बरालका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ठक्करका कारण बसको पछाडिको भाग र स्कारपियोको अगाडिको भाग गम्भीर रूपमा क्षतिग्रस्त भएको उनले बताए।
उक्त स्कारपियो मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको नाममा रहेको पुष्टि भएको छ। तर दुर्घटनाको बेला गाडी कहाँ र के प्रयोजनका लागि गइरहेको थियो भन्ने स्पष्ट भइसकेको छैन।
मन्त्रालय स्रोतका अनुसार सो गाडी पटक–पटक ‘उच्च पदाधिकारी र उनीहरूसँग नजिकका व्यक्तिहरूले व्यक्तिगत प्रयोजनका लागि’ प्रयोग गर्दै आएका थिए। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सरोज यादवको नियुक्तिलाई ‘अवैधानिक’ ठहर गर्दै पद, गाडी र आवास छोडेका छैनन्। त्यसैले यादवले आफूलाई तोकिएको नयाँ सवारीसाधन नपाएर पुरानै गाडी प्रयोग गर्दै आएको बताइन्छ।
प्रहरीका अनुसार उक्त स्कारपियो महोत्तरी सम्सी नगरपालिका–४ निवासी मोहम्मद मोम्ताज खानले चलाइरहेका थिए। दुर्घटनापछि प्रहरीले सामान्य नोक्सानीबाहेक ठूलो जनहानि नभएको जनाएको छ। तर, सरकारी गाडी दुर्घटनामा परेको दुई दिन बितिसक्दा पनि सम्बन्धित मन्त्रालयले आधिकारिक प्रतिक्रिया दिएको छैन।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका स्टोर प्रमुख केवल दासलाई सोबारे सोध्दा उनले ‘थाहा छैन’ भन्ने जवाफ दिएका थिए। सरकारी स्रोतहरूले भने मन्त्रालयभित्र नै गाडीको दुरुपयोग र नियन्त्रणको अभावबारे असन्तुष्टि बढ्दै गएको बताएका छन्।
मुख्यमन्त्री यादवले सो दुर्घटनाबारे सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। तर, गाडीको स्वामित्व, चालकको जिम्मेवारी र त्यसको प्रयोगबारे उठेका प्रश्नले मधेश सरकारको प्रशासनिक संयन्त्रमाथि नयाँ प्रश्नचिन्ह खडा गरेको छ।

