फेरि छलाङ मार्ने तयारीमा प्रचण्डः सुरक्षित जितको खोजीमा निर्वाचन क्षेत्र बदल्दै हिंड्ने राजनीतिक खेल

काठमाडौँ— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लिएर फेरि पनि ‘सहज जित’ हुने निर्वाचन क्षेत्रको खोजीमा केन्द्रित देखिएका छन्।

अघिल्ला निर्वाचनहरूमा निरन्तर निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डको नाम यसपटक देशका विभिन्न भागबाट उम्मेदवारका रूपमा सिफारिस हुन थालेपछि उनको राजनीतिक रणनीतिबारे तीव्र बहस सुरु भएको छ।

गत निर्वाचनमा गोरखा–२ बाट निर्वाचित प्रचण्डले यसपटक कहाँबाट चुनाव लड्ने भन्ने अझै स्पष्ट पारेका छैनन्। तर पार्टीभित्र र बाहिरको गतिविधिले उनी फेरि पनि जित सुनिश्चित हुने क्षेत्र रोज्ने रणनीतिमा लागेको संकेत गर्छ। अहिलेसम्म नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, कैलाली–३, काभ्रे, कास्की–१ लगायतका क्षेत्रबाट उनको नाम सिफारिस भइसकेको छ।

यसै क्रममा रुकुम (पूर्व)बाट पनि प्रचण्डलाई उम्मेदवार बनाउन दबाब बढेको छ। रुकुम पूर्वका नेता कैलाश मल्लसहित ७३ जना नेता–कार्यकर्ताले पेरिसडाँडामा पुगेर हाल सिफारिस भएका उम्मेदवार बदर गर्दै प्रचण्डलाई नै उम्मेदवार बनाइनुपर्ने मागपत्र बुझाएका छन्।

जनयुद्धको केन्द्र मानिने रुकुम पूर्वलाई ‘सुरक्षित निर्वाचन क्षेत्र’का रूपमा चित्रण गर्दै नेताहरूले प्रचण्डलाई त्यहाँबाट उठ्न आग्रह गरेका छन्। नेताहरूको तर्क छ— ‘जनयुद्ध, सहिद, घाइते र संघर्षशील जनताको जिल्लामा पछिल्ला निर्वाचित जनप्रतिनिधिले अपेक्षित विकास र सामाजिक न्याय दिन नसकेकाले अब प्रचण्ड स्वयं प्रतिनिधि बनेर ‘नयाँ सुरुआत गर्नुपर्छ।’

तर आलोचकहरू भने यसलाई जनभावनाभन्दा पनि पराजयको डरले निर्देशित राजनीतिक चाल मानिरहेका छन्। नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रचण्डको निर्वाचन क्षेत्रबारे छलफल चलिरहेको स्वीकार गर्दै अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको बताए। अर्का नेता लीलामणि पोखरेलले पनि शीर्ष नेताहरूले अझै आफू कहाँबाट उठ्ने भन्ने घोषणा नगरेको दाबी गरे।

प्रचण्डको राजनीतिक इतिहास हेर्दा उनी कहिल्यै एउटै निर्वाचन क्षेत्रमा टिकेर चुनाव लडेका छैनन्। २०६४ मा काठमाडौं–१० र रोल्पा–२, २०७० मा काठमाडौं–१० र सिराहा–३, २०७४ मा चितवन–३ र २०७९ मा गोरखा–२ बाट उनले चुनाव लडेका थिए। प्रत्येक निर्वाचनमा उनले नयाँ क्षेत्र रोज्दै आएका छन्।

जित र हारको समीकरण हेरेर निर्वाचन क्षेत्र परिवर्तन गर्नु उनको स्थायी रणनीतिजस्तै बनेको छ। यसपटक गोरखा–२ बाट उनको नाम सिफारिस नहुनु र अन्य ‘सुरक्षित’ क्षेत्रहरूतर्फ ध्यान केन्द्रित हुनुले प्रचण्ड फेरि एकपटक छलाङ मार्ने (निर्वाचन क्षेत्र फेरेर चुनाव जित्ने) तयारीमा रहेको देखिन्छ।

प्रश्न उठेको छ— बारम्बार निर्वाचन क्षेत्र फेर्ने यो रणनीति राजनीतिक चतुराइ हो कि जनप्रतिनिधित्वप्रतिको जिम्मेवारीबाट भाग्ने अभ्यास? निर्वाचन नजिकिँदै जाँदा प्रचण्डले कुन क्षेत्र रोज्छन् भन्ने मात्र होइन, उनले यो आलोचनात्मक प्रश्नको जवाफ कसरी दिन्छन् भन्ने पनि राजनीतिक रूपमा उत्तिकै चासोको विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *