झापा–५ मा ‘स्टन्ट राजनीति’को परीक्षणः ओलीको वर्चस्वविरुद्ध बालेन्द्र साह र तामाङ द्वयको दौड

दमक — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर झापा क्षेत्र नं. ५ राजनीतिक रूपमा देशकै सबैभन्दा चासोको केन्द्र बन्दै गएको छ। लामो समयदेखि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको यो निर्वाचन क्षेत्रमा यसपटक सत्ता, वैकल्पिक राजनीति र नयाँ दलहरूको सीधा टकराव देखिने भएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) झापा–५ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्। उनको उम्मेदवारीलाई लिएर रास्वपाले झापामा संगठनात्मक तयारी तीव्र पारेको छ। रास्वपा जिल्ला सभापति प्रकाश पाठकका अनुसार दमक–३ मा बालेनका लागि सम्पर्क कार्यालय सञ्चालन गर्ने गरी घर छनोट गरिएको छ। सम्पर्क कार्यालयसँगै बालेन बस्ने तथा सचिवालय सञ्चालनका लागि अर्को घरसमेत खोजी भइरहेको छ।

पाठकका अनुसार उक्त सम्पर्क कार्यालय ऐतिहासिक हुने दाबी गरिएको छ, यद्यपि बालेनको टिमले अन्तिम रूपमा घर अवलोकन गर्न बाँकी छ। बालेनले ओलीसँग सीधा प्रतिस्पर्धा गर्न झापा जाने तयारी गरेको र फागुन २१ को निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारी तीव्र पारेको रास्वपा नेताहरू बताउँछन्।

यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट रञ्जित तामाङले झापा–५ बाट उम्मेदवारी दिने भएका छन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङलाई निर्वाचनमा सहभागी हुन औपचारिक अनुमति दिएका छन्। प्रचण्डसँगको भिडियो सन्देश सार्वजनिक गर्दै तामाङले नेतृत्वप्रति आभार व्यक्त गर्दै झापा–५ का मतदातालाई चुनाव चिह्न ‘तारा’मा मतदान गरी जनसेवाको अवसर दिन अपिल गरेका छन्। उनले यसअघि नै यही निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका थिए।

यसैगरी, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि झापा–५ लाई मुख्य राजनीतिक केन्द्र बनाएको छ। पार्टीले समिर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। समिर तामाङ पार्टीका सहमहासचिव हुन्। पार्टी अध्यक्ष साम्पाङका अनुसार ओली र काठमाडौं महानगरका मेयर बालेन्द्र साह दुवैलाई हराउने रणनीतिका साथ समिर तामाङलाई मैदानमा उतारिएको हो।

साम्पाङले आफू सुनसरीबाटै चुनाव लड्ने बताए पनि झापा–५ मा सक्रिय रूपमा खटिने संकेत गरेका छन्। धरान उपमहानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएपछि आफैं झापा पुगेर मत माग्ने उनले बताएका छन्। आफूले एकपटक भाषण गरेपछि चुनावी माहोल श्रम संस्कृति पार्टीको पक्षमा मोडिने दाबी गर्दै साम्पाङले झापा–५ मा जित सुनिश्चित हुने दाबीसमेत गरेका छन्।

यसरी एकातर्फ निरन्तर जित्दै आएका एमाले अध्यक्ष ओली, अर्कोतर्फ नेकपाबाट रञ्जित तामाङ, श्रम संस्कृति पार्टीबाट समिर तामाङ र रास्वपाबाट बालेन्द्र साहको सम्भावित उम्मेदवारीले झापा–५ लाई यसपटकको निर्वाचनको सबैभन्दा रोचक र निर्णायक क्षेत्र बनाइदिएको छ। सत्ता राजनीति, वैकल्पिक आन्दोलन र नयाँ शक्ति एउटै मैदानमा उत्रँदा झापा–५ को चुनावी परिणामले राष्ट्रिय राजनीतिमा दूरगामी असर पार्ने आँकलन हुन थालेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट